२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा २३ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

बुधवार , चैत्र ५, २०८१

भैरहवा, ६ चैत । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीमा करिब २३ हजार विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा यस वर्ष जिल्लामा २२ हजार ९ सय ७५ विद्यार्थी) सहभागी हुने भएका छन् । जसअन्तर्गत नियमित (साधारण धारतर्फ) १७ हजार ५ सय १८ जना, साधारण धारतर्फ ग्रेडवृद्धि (पुरानो र नयाँ) ४ हजार ९ सय ३९ र प्राविधिक धारतर्फ ५१८ जना प्रशिक्षार्थीहरु सहभागी हुने भएका हुन् ।

विगतको वर्ष भन्दा यस वर्ष जिल्लामा एसईईमा सहभागी हुने विद्यार्थीको संख्या बढेको शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीले जनाएको छ । इकाइ प्रमुख (उपसचिव) माधव वन्जाडेका अनुसार रुपन्देहीमा गतको वर्ष भन्दा यस वर्ष ३ हजार २ सय ८० बढी विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन् ।

यस वर्ष चैत ७ देखि १७ गतेसम्म एसईई परीक्षा सञ्चालन हुँदैछ । जसअन्तर्गत साधारण धारतर्फ ७ देखि १५ र प्राविधिक धारतर्फ (थप दुई दिन) १७ गतेसम्म सञ्चालन हुनेछ । ‘राष्ट्रिय परीक्षा बोर्डबाट २०८१ सालको एसईई परीक्षा सञ्चालनको पूर्वतयारीको अवस्थामा छौं’इकाइ प्रमुख वन्जाडेले भने–‘परीक्षाको सम्पूर्ण तयारीहरु पूरा गरेका छौं, अहिले परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम गरिरहेका छौं । प्रश्नपत्रहरु सम्बन्धित प्रहरी चौकीहरुमा पुगिसकेको छ ।’

रुपन्देहीमा यस वर्ष ६० वटा परीक्षा केन्द्र तोकिएको उनले बताए । उनका अनुसार प्राविधिकतर्फबाट परीक्षार्थीहरु भैरहवा र बुटवलमा गरी दुईवटा केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । जिल्लामा यस वर्ष सामूदायिकबाट १७६ र संस्थागतबाट १७० गरी ३४६ वटा विद्यालयबाट परीक्षार्थीहरु सहभागीता रहनेछ वञ्जाडेले जानकारी दिए ।  

जिल्ला परीक्षा समन्वय समितिको बैठकको निर्णय भए अनुसार सम्पूर्ण केन्द्राध्यक्षहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । ‘केन्द्राध्यक्षहरुलाई वितरण गर्नुपर्ने सम्पूर्ण सामग्रीहरु हस्तान्तरण गरिसकेका छौं’उनले भने–‘केन्द्राध्यक्षहरु अब विद्यार्थीहरुको सिट प्लानिङ लगायतको विषयमा (पूर्वतयारीमा) केन्द्रीत हुनुहुन्छ ।’ 

जिल्लामा एसईई परीक्षाका लागि ६० जना केन्द्राध्यक्ष, १५२ जना सहायक केन्द्राध्यक्ष, करिब १ हजार २ सय निरीक्षक, २३५ सहायक कर्मचारी, करिब ४७० सहयोगी कर्मचारी गरी (सुरक्षाकर्मीबाहेक) करिब २ हजार १ सय जनशक्ति परिचालन हुनेछन् ।

हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क

एसईई परीक्षा सञ्चालन हुने सम्पूर्ण परीक्षा केन्द्रमा स्वास्थ्य (हेल्थ) डेस्कको व्यवस्था गरिएको छ । गत वर्षदेखि यो व्यवस्थाको सुरुवात गरिएको इकाई प्रमुख वन्जाडेले बताए । ‘परीक्षार्थीहरुका लागि परीक्षामैत्री वातावरण र सहयोग गर्नका लागि स्वास्थ्य कार्यालय, रुपन्देही र स्थानीय तहहरुसँग समन्वय गरेर हरेक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी र प्राथमिक उपचारको व्यवस्थासहितको हेल्थ डेस्क राखिनेछ,’ उनले भने ।

शान्ति नमूनामा ६५८ जना विद्यार्थी 

यस वर्ष एउटै परीक्षा केन्द्रमा सबैभन्दा धेरै ६५८ जना परीक्षार्थीहरु रहेका छन् । धेरै विद्यार्थीहरु रहेको तिलोत्तमास्थित शान्ति नमूना माध्यमिक विद्यालयमा ६५८ जना विद्यार्थीहरुले एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीले जनाएको छ । ।