
बुधवार , चैत्र ५, २०८१
बुटवल, ६ चैत । रुपन्देहीको बुटवलमा यही चैत ८ र ९ गते मिडिया सम्मेलन हुने भएको छ । सञ्चार माध्यमहरुका समस्या र चुनौती पहिल्याउँदै अवसर र सम्भावको खोजी गर्ने लक्ष्यका साथ सम्मेलन हुने भएको हो ।
प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरु सहभागी गराएर दुईदिने मिडिया सम्मेलन गर्न लागेको हो।
सातवटा सत्रमा विभाजन गरी कार्यक्रम अगाडि बढाइने संघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । उनका अनुसार सम्मेलनको सुरुमा उदघाटन सत्र हुनेछ । दोस्रो सत्रमा ‘परम्परागत मिडिया : आजको अवस्था, भोलिको बाटो’ विषयमा छलफल गरिनेछ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापाले प्रस्तुती राख्नेछन् ।
त्यस्तै तेस्रो सत्रमा छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुनेछ । जसमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीको प्रस्तुती रहनेछ ।
सम्मेलनको चौथो सत्रमा के अनलाइन पत्रकारिता सधैका लागि हो ? भन्ने विषयमा छलफल गरिनेछ । जसमा अनलाइन खबरका धर्मराज भुसाल र बाह्रखरी डटकमका प्रतिक प्रधानले प्रस्तुती राख्नेछन् । पाँचौ सत्रमा किन फस्टाउन सकेन विज्ञापन बजार ? भन्ने विषयमा छलफल हुनेछ । जसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रस्तुती रहनेछ ।
छैठौं सत्रमा अनेक संस्था : नियमन कि नियन्त्रण ? भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्नेछन् ।
सम्मेलनको सातौं सत्रमा ‘सम्बन्ध : पत्रकार र पत्रकार महासंघको : के भयो ? के हुँदैछ ?’ भन्ने विषयमा छलफल हुनेछ । जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पूर्वअध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीको प्रस्तुती रहनेछ ।
विज्ञहरुका प्रस्तुतिपछि संक्षिप्त प्रश्नोत्तर समेत गरिने अध्यक्ष कुँवरले जानकारी दिए । उनले मिडिया सम्मेलनले सञ्चार माध्यमहरुको विद्यमान अवस्था, अब गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी सम्मेलनले ठोस कार्ययोजना बनाउने बताए ।
संघका उपाध्यक्ष विष्णु भुसालले यो सम्मेलन मिडियाको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
सम्मेलनले सञ्चार माध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको संघका सचिव माधव नेपालले बताए । उनले सम्मेलनमा रेडियोहरुको विषयमा छुट्टै प्रस्तुति नराखिए पनि सहभागी विज्ञहरु नै रेडियो सञ्चालक समेत भएकाले एफएम रेडियोका समस्या पनि उजागर हुने विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij