
बुधवार , चैत्र ५, २०८१
दाङ, ६ चैत । लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तयारी पूरा भएको छ । बिहीबार बिहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन गरिने छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पुरा भएको छ’उनले भने,‘अब विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।’
यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार ९ सय ७५ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङ मा १४ हजार २ सय ५४, कपिलवस्तुमा ९ हजार ४ सय ६१, बाँकेमा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४०, बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हँुदैछन् ।
नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेडवृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिनेछन् । त्यसै गरी प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६ सय कर्मचारी परिचालन हँुदैछन् । केन्द्राध्यक्ष ३ सय ४८ जना, सहायक केन्द्राध्यक्ष ६ सय ३४, निरीक्षक ४ हजार ७ सय ५८, सहायक ९ सय ५८ र कार्यालय सहयोगी १ हजार ९ सय २ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।
मुख्यमन्त्रीको अपील : ढुक्क भएर परीक्षा दिनुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपील गरेका छन् । उनले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गरे । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।
मुख्यमन्त्री आचार्यले अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई परीक्षाका लागि आवश्यक वातावरण सिर्जना गर्न आह्वान गरे । साथै, परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण तथा व्यवस्थित वातावरण कायम गर्न प्रशासन र सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइसकिएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij