२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एन्जियो प्लाष्टी

बिहिवार , चैत्र ६, २०८१

  • 811
    Shares
  • 811
    Shares
  • बुटवल, ७ चैत । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलोपटक एन्जियोप्लाष्टी गरिएको छ । वरिष्ठ कार्डियोलोजिष्ट डा. रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको हो । 

    पहिलोपटक बिरामीको एन्जियोप्लाष्टी सफल भएकोमा खुसी व्यक्त गर्दै डा. घिमिरेले मुटुरोग उपचारमा थप नयाँ उपलब्धी प्राप्त भएको बताए । उनले मुटुरोग उपचारका लागि सेवाग्राहीलाई बुटवलबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न अन्य सेवाहरु समेत थप गर्न आवश्यक रहे पनि अहिले सुरु गरिएको एन्जियोप्लाष्टी सेवा यस क्षेत्रका जनताका लागि ठूलो खुसीको कुरा भएको उल्लेख गरे । एन्जियोप्लास्टी एक गैर–सर्जिकल प्रक्रिया हो, जसले हृदयमा रगत आपूर्ति गर्ने नशाहरूमा अवरोध हटाउन मद्दत गर्दछ । यस प्रक्रियामा स्थानीय एनेस्थेसिया प्रयोग गरिन्छ । 

    विशेषज्ञ सेवालाई विस्तार गर्दै गएको लुम्बिनी अस्पतालमा मुटुरोग उपचारका लागि अन्यत्र जान नपर्ने गरी विभिन्न सेवाहरु थप गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले जनाए । अस्पतालमा क्याथ ल्याब सेवा अन्तरगत १ जनाको स्थायी पेसमेकर राख्नुका साथै ३ जनालाई अस्थायी पेसमेकर राख्ने काम समेत सफल भएको छ । क्याथ ल्याब सेवा सुरु भएपछि हालसम्म ८० जनाको एन्जियोग्राफी गरिएको तथ्यांकमा उल्लेख छ । 

    अस्पतालमा पछिल्लो समय ट्रेड मिल टेस्ट (टीएमटी) सेवा समेत सञ्चालन गरिएको छ । यसबाट मुटुका नशाहरुमा ब्लकेजहरु भए÷नभएको थाहा पाउन सकिने र सोहीअनुसार उपचार गर्न सजिलो हुनेछ । अस्पतालमा पेरिकार्डियो सेन्टेसिस, होल्टर इसिजी लगायतका सेवा समेत सञ्चालनमा आएका छन् ।