२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा २३ हजार विद्यार्थी एसईईमा सहभागी, पहिलो दिन शान्तिपूर्ण

बिहिवार , चैत्र ६, २०८१

रुपन्देही, ७ चैत । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीमा करिब २३ हजार विद्यार्थी सहभागी भएका छन् । परीक्षामा यस वर्ष जिल्लामा २२ हजार ९ सय ७५ विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीले जनाएको छ । जसअन्तर्गत नियमित (साधारण धारतर्फ) १७ हजार ५ सय १८ जना, साधारण धारतर्फ ग्रेडवृद्धि (पुरानो र नयाँ) ४ हजार ९ सय ३९ र प्राविधिक धारतर्फ ५१८ जना प्रशिक्षार्थीहरु सहभागी हुने भएका हुन् ।

विगतको वर्ष भन्दा यस वर्ष जिल्लामा एसईईमा सहभागी हुने विद्यार्थीको संख्या बढेको शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीले जनाएको छ । इकाइ प्रमुख उपसचिव माधव वन्जाडेका अनुसार रुपन्देहीमा गतको वर्ष भन्दा यस वर्ष ३ हजार २ सय ८० बढी विद्यार्थीहरु एसईईमा सहभागी भएका छन् । यस वर्ष बिहीबार (आज) देखि १७ गतेसम्म एसईई परीक्षा सञ्चालन हुँदैछ । जसअन्तर्गत साधारण धारतर्फ ७ देखि १५ र प्राविधिक धारतर्फ (थप दुई दिन) १७ गतेसम्म सञ्चालन हुनेछ । 

रुपन्देहीमा यस वर्ष ६० वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको छ । प्राविधिकतर्फबाट परीक्षार्थीहरु भैरहवा र बुटवलमा गरी दुईवटा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् । जिल्लामा यस वर्ष सामूदायिकबाट १७६ र संस्थागतबाट १७० गरी ३४६ वटा विद्यालयबाट परीक्षार्थीहरु सहभागीता रहेको वञ्जाडेले जानकारी दिए । रुपन्देहीमा पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 

एसईई परीक्षा सञ्चालन हुने सम्पूर्ण परीक्षा केन्द्रमा स्वास्थ्य (हेल्थ) डेस्कको व्यवस्था गरिएको छ । परीक्षार्थीहरुका लागि परीक्षामैत्री वातावरण र सहयोग गर्नका लागि स्वास्थ्य कार्यालय, रुपन्देही र स्थानीय तहहरुसँग समन्वय गरेर हरेक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी र प्राथमिक उपचारको व्यवस्थासहितको हेल्थ डेस्क स्थापना गरिएको हो ।