
बिहिवार , चैत्र ६, २०८१
भैरहवा, ७ चैत । रुपन्देहीको भैरहवास्थित श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालय (परीक्षा केन्द्र) बाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा आशिष बनिया पक्राउ परेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
परीक्षा निरीक्षक अब्दुल रहमान खाँका अनुसार निरीक्षणका क्रममा नक्कली विद्यार्थी फेला परेका हुन् । संजय चौधरीको नाममा (अंग्रेजी विषयको ग्रेडवृद्धि) को परीक्षा दिन बनिया आएका थिए ।
चौधरी भैरहवास्थित श्री सु–संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी हुन् । उनको नाममा परीक्षा दिन आएका बनिया २०८० सालको एसईई परीक्षा उत्तीर्ण भइ हाल कक्षा ११ मा तिलोत्तमास्थित शान्ति नमूना माविमा अध्ययन गरिरहेको परीक्षा निरीक्षक खाँले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख उपसचिव माधव बन्जाडेले एकजना नक्कली परीक्षार्थी भेटिएको बताए । उनले रूपन्देहीमा शान्तिपूर्ण रुपमा पहिलो दिनको परीक्षा सम्पन्न भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij