२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चैत ९ र १० गते हुने नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी पूरा

बिहिवार , चैत्र ६, २०८१

बुटवल, ७ चैत । नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको यही चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो । 

२०७८ साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ । 

पत्रकार सम्मेलनमा नेकपा (एस) का पोलिटब्यूरो सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज नन्दलाल बन्जाडेले महाधिवेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्वान्त र विधानअनुसार अधिवेशनमा होमिएको बताए । उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । उनले जिल्ला अधिवेशनका लागि रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधिहरु छनौट गर्ने काम सम्पन्न गरिएको बताए ।  उनले आफूहरु एमाले विद्रोहबाट आएकाले त्यसैको निरन्तरता भएकाले जिल्ला अधिवेशन १० औं भनिएको दावी गरे ।

अधिवेशन प्रतिनिधिहरुको छनौट गर्दा दलिततर्फ १० जना बराबर १, खुल्लातर्फ २० जना बराबर १ र सबै क्लस्टरमा एकतिहाई महिला र २० प्रतिशत ४० वर्षमुनीका युवाहरुको सहभागीताको सिद्वान्त अपनाइएको कार्यबाहक जिल्ला अध्यक्ष श्रीराम यादवले जानकारी दिए । उनले आफूहरुले विधानको पूर्णतया पालना गरेको बताउँदै अधिवेशनलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।

विधान अनुसार संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११ र ५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरु रहेको पार्टीद्वारा जारी प्रेस वक्तत्यमा उल्लेख छ । विधानबमोजिम जम्मा प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरु जिल्ला कमिटीले मनोनित गरी १० औं अधिवेशनमा सहभागी प्रतिनिधिहरुको जम्मा संख्या १४१ जना बनाइने जनाइएको छ । 

अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्द सत्र हुनेछ । बुटवल उपमहानगरपालिका–१३ स्थित साईनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए । अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको छलफलपछि टुंगो लगाइने उनले बताए ।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटी सदस्य हिराध्वज शाह, यम पछाई, जिल्ला उपाध्यक्ष चिन बहादुर गुरुङ लगायतका नेताहरुको उपस्थिति थियो ।