
शनिवार , चैत्र ८, २०८१
भैरहवा, ९ चैत । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङ जनता समाजवादी पार्टी (जसपा), नेपालमा प्रवेश गरेका छन् । जनमत पार्टी परित्याग गरी गुरुङ जसपा नेपालमा प्रवेश गराएका हुन् ।
जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनलाई केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मा, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, पार्टीका प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादव, प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, जिल्ला अध्यक्ष सियाराम यादव लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।
गुरुङ २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा जनमत पार्टीबाट रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । पार्टी प्रवेशपछि गुरुङले जसपा नेपाल सबैलाई समेट्ने र अधिकार दिलाउने पार्टी रहेको बताए ।
गुरुङको श्रीमती गीता गुरुङ जनमत पार्टीबाट समानुपातिकतर्फ लुम्बिनी प्रदेश सभा सदस्य हुन् ।
गुरुङको प्रवेशले पार्टीलाई रुपन्देही तथा लुम्बिनी प्रदेशमा अझ बलियो बनाउन थप सहयोग पुगेको जसपा नेपालका लुम्बिनी प्रदेश कोषाध्यक्ष विद्या प्रसाद यादवले बताए ।
कार्यक्रममा जनमत नेपालकी केन्द्रीय सदस्य निलम यादव पनि जसपा नेपालमा प्रवेश गरेकी छन् । उनी पहिला जसपामै थिइन् ।
कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी परित्याग गरी २ सय बढी नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही अध्यक्ष सियाराम यादवले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij