२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

वर्तमान सरकारको असक्षमताका कारण जनतामा आक्रोश बढ्यो : महासचिव शर्मा

आइतवार , चैत्र ९, २०८१

भैरहवा, १० चैत । जनता समाजवादी पार्टी (जसपा), नेपालका महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माले वर्तमान सरकारको असक्षमताका कारण जनतामा आक्रोश बढिरहेको बताएका छन् । उनले जुन प्रतिवद्धताका साथ यो सरकार बनेको हो, त्यो प्रतिवद्धताबाट सरकार पछि हटेको दावी गरेका छन् ।

जसपा नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै महासचिव शर्माले यस्तो बताएका हुन् । ‘सरकार गठन अघि जुन प्रतिवद्धता गरिएको थियो, त्यो प्रतिवद्धताबाट स्वयं प्रधानमन्त्री केपी शर्मा ओली पछाडि हट्नुभएको छ’ उनले भने–‘प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ सालमा हुने भन्नुभएको छ ।’ सरकारले सुशासन, समृद्धि ल्याउने र भ्रष्टाचार नियन्त्रण गर्ने भने पनि त्यो हुन नसकेको उनले बताए ।

वर्तमान सरकार सम्पूर्ण मोर्चामा असफल भएको उनले दावी गरे । चिहानमा पुगिसकेको राजतन्त्र नफर्किने र गणतन्त्रको रक्षाका लागि हुने संघर्षका लागि तयार रहन उनले पार्टीका नेता–कार्यकर्ताहरुलाई आग्रह गरे ।
संविधान सभा सदस्य समेत रहेका शर्माले संघीयता, समावेशीता, सामाजिक न्याय र पहिचानका लागि जसपा नेपालले संघर्ष गर्दै आएको बताए । हिमाल, पहाड, तराई र सबै जातजाति र वर्गलाई जोड्ने पार्टी जसपा नेपाल भएको उनले दावी गरे ।

महासचिव शर्माले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर बनेको यो सरकार अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक रहेको जिकिर गरे । ‘यी दुई दल फरक गठबन्धनमा चुनावमा गएका थिए, जनताको बीचमा फरक नीति, विचार, मुद्वा र कार्यक्रम लिएर गएका थिए । जनताबाट मत पाएर अहिले सँगै सरकारमा छन्, उनले भने–‘संसारमा सामान्य अवस्थामा कही पनि पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्दैन।’ यसले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने उनले बताए ।

काँग्रेस–कम्युनिष्टले जनताामा गरेको प्रतिबद्धता बिर्सेको उनले आरोप लगाए ।