
आइतवार , चैत्र ९, २०८१
काठमाडौं, १० चैत । नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् । शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा. शैलेन्द्र प्रकाश नेपालले जानकारी दिए ।
उनको प्रतिद्वन्दी डा. शशि थापा पण्डितले २७ मत पाइन् । निर्वाचित भएसँगै आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिवद्धता जनाए । ‘सम्पूर्ण बाल साहित्यकारहरुको एउटा साझा संस्थाको रुपमा विकास गर्दै लैजान र सातै प्रदेशको समितिलाई मजबुत ढंगले अगाडि बढाउनेछु,’नवनिर्वाचित अध्यक्ष आचार्यले भने । उनले हरेक वर्ष हुने राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय बनाउने समेत बताए । ‘राष्ट्रिय सम्मेलनलाई सार्कस्तरीय सम्मेलनमा स्तरोन्नति गर्ने र अन्तर्राष्ट्रियस्तरका साहित्यकारबाट पेपर प्रस्तुति दिने प्रबन्ध मिलाउने प्रयास गरिनेछ,’उनले भने ।
२०४४ साल असोज ८ गते स्थापना भएको नेपाल बाल साहित्य समाज नेपाली बालसाहित्य र सर्जकहरुको अभिलेखीकरण, संरक्षण र प्रवद्र्धन गर्दै आएको गैरनाफामूलक संस्था हो ।
अन्य पदमा को–को भए निर्वाचित ?
नयाँ कार्यसमितिका लागि चैत ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका थियो । उक्त दिन महासचिवमा विष्णुकुमार खत्री (विष्णु केसी) को मात्र उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका थिए ।
त्यसै गरी सचिवमा भानु भट्टराईको उम्मेदारी परेको थियो, प्रकाशकतर्फ केन्द्रीय सदस्यमा केशव पराजुली, चित्रकारतर्फ अर्पिता शाक्य र महिलातर्फ यशोदा अधिकारीको मात्र उम्मेदवारी परेको थियो । योसँगै यी पदमा निर्विरोध निर्वाचित भएका थिए ।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, खुला दुई सदस्य र शिक्षकतर्फ भने दुई÷दुई जनाको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले चैत ७ गते उम्मेदवारी फिर्ताको समय तोकेको थियो । समाजका अधिकांशले सर्वसम्मत नेतृत्वको चयनको प्रयास गरेका थिए । चैत ७ गते शिक्षकतर्फको सदस्यमा अनिरुद्र अर्याल र कृष्णप्रसाद नेपालको उम्मेदवारी परेकोमा नेपालले उम्मेदवारी फिर्ता लिएसँगै अर्याल निर्विरोध भएका थिए ।
यता आचार्य नेतृत्वमा भने उपाध्यक्षका उम्मेदवार विजयराज न्यौपाने, कोषाध्यक्षमा डा सीता सुवेदी पन्थी, सदस्यहरुमा क्रान्ति पाण्डे र सन्जोग ठकुरी उम्मेदवार थिए ।
उपाध्यक्षतर्फ आचार्य समूहकै विजयराज न्यौपाने ४० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी डा. यादवी ढकालले २८ मत पाइन् । कोषाध्यक्षमा डा. सिता सुवेदी पन्थीले ४० मत ल्याउँदै विजयी हुँदा उनका प्रतिद्वन्दी राजेन्द्र भक्त जोशीले २९ मत प्राप्त गरेका थिए ।
खुल्ला सदस्यमा क्रान्ति पाण्डे र समन श्रेष्ठ निर्वाचित भए। समन डा. शशी समूहका एकमात्र जीत निकाल्ने उम्मेदवार हुन् । समनले ४१ मत पाउँदा क्रान्तिले ३७ मत पाए । यता सन्जोगले ३० मत पाउँदा सुशीलाले भने २२ मत पाएकी थिइन् । कुल ७० मतदाता रहेको समाजको निर्वाचनमा ६९ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक डा. नेपालले जानकारी दिए । नयाँ कार्यसमिति ०८२–८३ को कार्यकालका लागि चयन गरिएको हो ।
को हुन् विजयराज आचार्य ?
बाल साहित्य समाजका निवर्तमान महासचिव नेपाली बाल साहित्यको क्षेत्रमा समसामायिक युवा पुस्ताका एक प्रतिष्ठित बाल साहित्यकार हुन् । उनले बाल साहित्यको क्षेत्रमा १०० भन्दा बढी कृतिहरू लेखन, सम्पादन र अनुवाद गरिसकेका छन् ।
प्युठानको ऐरावती गाउँपालिका–१ का उनी नेपाली बालसाहित्यको क्षेत्रमा वि.सं. २०५८ सालदेखि सक्रिय छन् । आचार्यको पहिलो मौलिक कृति ‘शान्तिको आत्मकथा’ हो । यो कथा वि.सं. २०५९ सालमा प्रकाशन भएको हो र आचार्य औपचारिक रूपमा यही कृतिमार्फत साहित्यिक क्षेत्रमा सार्वजनिक भएका हुन् । आचार्यको ‘शान्तिको आत्मकथा’ नेपाली भाषामा मात्र नभइकन नेवारी, मैथिली, थारु, हिन्दी र अंग्रेजी भाषामा समेत अनुवाद भइ प्रकाशन भइसकेको छ ।
कम्युनिष्ट विचारधाराका पुस्तकहरू प्रकाशन गरेको आरोपमा जनयुद्धकालमा वि. सं. २०५८ साल पुष २८ गते उनलाई गिरफ्तार गरी तीन महिनासम्म हनुमानढोकामा हिरासतमा राखिएको थियो ।
उनी सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार २०६० (नेपाल बालसहित्य समाजबाट), पुष्कर गौतम बालसाहित्य पुरस्कार २०६७, पारिजात सर्वाेत्कृट बालसाहित्य पाण्डुलिपि पुरस्कार २०७० (बुबाको माया कृतिको लागि), दिलसरी–दल अतिरिक्त पुरस्कार २०७१ राप्ती साहित्य परिषद्वारा सम्मान, जनवत–केदार÷सुदर्शन बालसाहित्य सम्मान – २०७८, भूपेन्द्र स्मृति साहित्य पुरस्कार– २०८० (साहित्य परिषद् प्युठानद्वारा) सम्मानित भइसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij