
आइतवार , चैत्र ९, २०८१
विराटनगर, १० चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भ्रम फैलाउनेहरुलाई नियन्त्रण गर्न आम सञ्चार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले पुनः लोकतन्त्र मासिए सबैभन्दा बढी प्रहार र दुःख सञ्चार माध्यमले भोग्नुपर्ने बताए ।
उनले कुनै पनि हालतमा राजतन्त्र ब्युत्याउन सम्भव नभएको स्पष्ट पार्दै गणतान्त्रिक सोच भएका जनताले कदापी नस्जीकार्ने बताए । महासचिव पोखरेलले पछिल्लो समय जनतामा देखिएको निराशा अन्त्य गर्न छलफल गरिनुपर्ने धारणा राखे ।
राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेको बताउँदै राजनीतिक स्थायीत्वका लागि राजनैतिक स्थिरता आवश्यक भएको र राजनीतिक स्थिरताका लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उनले बताए ।
तीन दिनसम्म आयोजना हुने सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । महाधिवेशनमा करिब ९ सय प्रतिनिधिहरु सहभागी भएको आयोजकले जनाएको छ ।
महाधिवेशन उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालले स्थापना गरेको विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । सो क्रममा ५१ हजार राशीको हृदयचन्द्र सिंह प्रधान स्मृति पुरस्कार मातृका पौडेललाई प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij