
सोमवार , चैत्र १०, २०८१
तिलोत्तमा, ११ चैत । अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले प्रभातफेरी र अन्तरक्रिया कार्यक््रmम सम्पन्न गरेको छ । ‘वन र खाना’ विषय रहेको यस वर्षको वन दिवसको अवसरमा एकेडेमीको प्रांगणबाट शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको कार्यालयसम्म प्रभात फेरि सम्पन्न भएको थियो ।
प्रभातफेरि पश्चात एकेडेमीका विद्यार्थी र शंकरनगर वन उपभोक्ता समूहका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । स्नातक तहका वन विज्ञानका विद्यार्थीहरूले वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारीसँग वन व्यवस्थापन, प्रयोग र चुनौतीबारे अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा शंकरनगर वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेतले २०३६ सालमा मासिएको वन सामुदायिक प्रयत्नबाट संरक्षण तथा विस्तार भएको उल्लेख गरे । उनले शंकरनगर वन उपभोक्ता समूहले तिलोत्तमाको वडा नम्बर १ देखि ४ सम्म सेवा प्रदान गर्ने र ४ हजार भन्दा बढी घरधुरी रहेको बताए । सामुदायिक वनले उपसमूहको रुपमा शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र सञ्चालन रहेको जानकारी गराउँदै अध्यक्ष बस्नेतले वन डढेलो अहिलेको चुनौती रहेको उल्लेख गरे ।
त्यस्तै वन उपभोक्ता समूहका उपाध्यक्ष कमला ज्ञवालीले सामुदायिक वन उपभोक्ता समूहले महिलाको सशक्तिकरण पनि योगदान गरेको बताइन् ।
कार्यक्रममा लुम्बिनी इन्टिग्रेटेड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत पुरन केसीले कक्षामा पढेको विषयलाई प्रत्यक्ष अध्ययन र अवलोकनको लागि अन्तरक्रिया गरिएको बताए । त्यस्तै बि.एस्सी.फरेस्टीका संयोजक सम्मान न्यौपानेले जलवायु परिवर्तनले खाद्य सुरक्षामा संकट सिर्जना गरेको वर्तमान परिस्थितिमा वनको संरक्षण र व्यवस्थापन जरुरी रहेको बताए ।
कार्यक्रममा उपभोक्ता समूहका कोषाध्यक्ष भुवन आचार्य, सचिव कालिका अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रम एकेडेमीका शैक्षिक संयोजक रामचन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी लुम्बिनी प्रदेशको एक मात्र वन विज्ञान अध्ययन हुने शैक्षिक संस्था भएको एकेडेमीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij