२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ एकेडेमी रुपन्देहीले मनायो २० औं वार्षिक उत्सव

सोमवार , चैत्र १०, २०८१

भैरहवा, ११ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित सिद्धार्थ एकेडेमी रुपन्देहीले अतिरिक्त क्रियाकलापसँगै विद्यार्थीमा अनुशासन र उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 

शनिबार विद्यालयमा आयोजित एकेडेमीको २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले भैरहवामै नमूना विद्यालयको रुपमा रहेको सिद्धार्थ एकेडेमी विद्यालयहरुलाई मात्र नभइ अभिभावकहरुलाई समेत धेरै कुरा सिकाएको बताएका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख जानह्वी पाण्डेले विद्यार्थी र विद्यालयको शैक्षिक विकासका लागि नगरपालिका र आफू प्रतिवद्ध रहेको बताइन् । उनले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताइन् ।

विद्यालयका प्राचार्य अमित यादवले विद्यालयका शिक्षक र कर्मचारी लगायत विद्यालयको सम्पूर्ण टीमको अथक प्रयासले नै सिद्धार्थ एकेडेमी रुपन्देही शैक्षिक गुणस्तरमा फडको मारेको बताए । उनले यस विद्यालयमा कक्षा ९ र १० लगायत प्लस टुसम्मका कक्षा सञ्चालन गर्ने योजनाका साथ प्राविधिक शिक्षामा जोड दिने उद्देश्यका साथ अगाडी बढेको उल्लेख गरे ।

जीवन विज्ञान प्रतिष्ठान भैरहवाका प्रमुख खगनाथ गैरैले सिद्धार्थ एकेडेमी रुपन्देहीले पछिल्लो समय शिक्षामा धेरै फडको मारेको बताए । उनले विद्यालय नै विद्यार्थीहरुको पवित्र मन्दिर भएकोले यसलाई सबैले संरक्षण गर्दै मिलेर अगाडी बढेमा मात्र विद्यार्थीहरुको भविष्य उज्जवल हुन सक्ने बताए ।

रुपन्देही जिल्ला अदालतका सुरक्षाकर्मी प्रमुख केशव पाण्डेले आधुनिक शिक्षा नै आजको आवश्यकता भएकोले यहाँका शिक्षकहरुलाई सोहीअनुसार शिक्षा प्रदान गर्न अनुरोध गर्दै यसमा अभिभावकहरुलाई आफनो महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे ।

सिद्धार्थ एकेडेमीका सह–प्राचार्य अम्बिका गुरुङको स्वागतमन भएको कार्यक्रममा विद्यालयका शिक्षिका रविना कुर्मी, कक्षा ६ का विद्यार्थी आरुष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन ब्राइट स्टार इंङलिस बोर्डिङ स्कुल कक्षा ९ का विद्यार्थी दिपिका कुवर र रिवाज पौडेलले गरेका थिए ।

कार्यक्रममा सहभागी अभिभावकहरुलाई समेत प्रशंसा–पत्रले सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा भएका विभिन्न खेलकुद प्रतियोगिता र २०८० सालमा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए ।

विद्यालयका प्राचार्य अमित यादवको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख जानह्वी पाण्डेको प्रमुख आतिथ्यतामा विद्यालयमा भएको २० औं वार्षिक उत्सव तथा अभिभावक कार्यक्रममा ब्राइट स्टार इंगलिस बोर्डिङ स्कूलका प्राचार्य एल.बि.रौतार, सह–प्राचार्य राहुल यादव, मोर्डन पब्लिक स्कूलका कोर्डिनेटर मुकेश यादव, जीवन विज्ञान प्रतिष्ठान भैरहवाका प्रमुख खगनाथ गैरे, समाजसेवी केशव पाण्डे, अनामिका कन्सल्टेन्सी भैरहवाका प्रमुख अनामिका यादव, ब्राइट स्टार इंगलिस बोर्डिङ स्कूलका कोर्डिनेटर नारायण कश्यप, सिद्धार्थ एकेडेमीका शेयर सदस्य, अभिभावक, विद्यालयका शिक्षकहरु, विद्यार्थी लगायत विभिन्न संघ–संस्थाका पदाधिकारी, सरोकारवाला लगायतको उल्लेख्य सहभागीता थियो ।