
सोमवार , चैत्र १०, २०८१
भैरहवा, ११ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित रविपथमा अवस्थित भैरहवा सिटी किड्स केयर मन्टेश्वरीको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मनिता घलेको अध्यक्षता तथा सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सदस्य एवं युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले वर्तमान परिवेशमा कामकाजी अभिभावकहरुले आफ्ना बालबच्चाहरुलाई प्रयाप्त समय दिन नसकिरहेको अवस्थामा मन्टेश्वरी शिक्षाले बच्चाहरुको मानसिक स्वास्थ्य, पोषण खानेकुरा, खेलकुद, संगीत, अनुशासन र सकारात्मक क्रियाकलापमा अग्रसर गराउन ठूलो टेवा पुगेको बताए । यसले भविष्यमा असल तथा दक्ष नागरिकको निर्माणमा समग्रमा राष्ट्रलाई नै योगदान पुग्ने उनले बताए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, वाचन शैलीको माध्यमबाट आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । त्यहाँबाट उत्तीर्ण भएका विद्यार्थी तथा अभिभावकहरुलाई खादा लगाएर तथा सम्झनाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार केसी, अभिभावक दिनेश गौतमले भैरहवा सिटी किड्स केयर मन्टेश्वरीले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको शैक्षिक क्रियाकलापमा राम्रो प्रभाव पारेको भन्दै संस्थाको अझ प्रगतिको शुभकामना व्यक्त गरे ।
विद्यालयका प्राचार्य अन्जु पाण्डेको स्वागत तथा शिक्षिका भुमिका पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij