
मंगलवार , चैत्र ११, २०८१
भैरहवा, १२ चैत । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, नेपाल सिद्धार्थनगर, रुपन्देहीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । सोमबार भैरहवामा सम्पन्न अधिवेशनले कमलेश बहादुर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा गुमान सिंह सारु, सचिवमा अम्बर गुरुङ, सह–सचिवमा सुकमाया गुरुङ, शिशिर पुन र कोषाध्यक्षमा ममता थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा धनिराम चौधरी, सुक बहादुर आले, सुरज श्रेष्ठ, मनिष तामाङ, माया राना, साहिल गुरुङ, इमलाल श्रेष्ठ र अमृत गुरुङ निर्वाचित हुनुभएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, नेपालका केन्द्रीय सदस्य, रुपन्देही जिल्ला सह–इञ्चार्ज तथा एमाले सिद्धार्थनगरका सचिव उमेश थापा लाटोमगरले जानकारी दिए ।
नगर अध्यक्षमा निर्वाचित श्रेष्ठले सिद्धार्थनगरका १३ वटै वडामा रहेका आदिवासी जनजातीलाई संगठित गर्दै उहाँहरुको समस्या बुझेर समाधानका लागि पहल गर्ने बताए । सबै एकजुट भइ ‘हामी सबै एक हौं’ भन्ने भावनाका साथ अघि बढ्ने उनले बताए ।
अधिवेशनको उद्घाटन गर्दै लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज सहदेव श्रेष्ठले राजसंस्थाको विषय उठाएर अब बेला आयो भन्दै प्रतिक्रियावादीहरु सडकमा सल्बलाएको बताए । उनले प्रतिक्रियावादीहरुले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाए । उनले जनता र देशको पक्षमा काम गर्ने पार्टी एमाले नै भएको दावी गरे ।
त्यस्तै एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले प्रतिगमन स्वीकार्य नभएको बताए । उनले आफ्नो भेषभुषा, भाषा, संस्कृति जोगाउनुपर्नेमा जोड दिए । नेता पोखरेलले आदिवासी जनजातीलाई अझ संगठित भइ अगाडि बढ्न आग्रह गरे ।
लोकतान्त्रिक आदिवासी जनजाती महासंघका लुम्बिनी प्रदेश अध्यक्ष अम्बर सिंजापतिले एमालेको विचार प्रत्येक व्यक्तिसम्म पुर्याउन सके पार्टी अझ बलियो हुने धारणा राखे ।
एमाले रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले लोकतान्त्रिक आदिवासी जनजाती महासंघले आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउनुपर्ने बताए । उनले एमाले अन्य राजनीतिक दल भन्दा फरक भएको बताए ।
पार्टीको क्षेत्र नम्बर ३, रुपन्देहीका संयोजक नर बहादुर घर्तीले लामो संघर्ष र बलिदानीपछि देशमा व्यवस्था परिवर्तन भएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक मगर संघ, नेपालका केन्द्रीय अध्यक्ष दिलबहादुर थापा मगरले पार्टीको मेरुदण्ड संगठन भएकोले संगठन बलियो भए पार्टी बलियो बन्ने बताए । एमाले लुम्बिनी प्रदेश पर्यटन तथा नागरिक उडड्यन विभाग सदस्य चन्द्रप्रकाश श्रेष्ठले अधिवेशनपश्चात संगठन विस्तारलाई तीव्रता दिन आग्रह गरे ।
नैन सिंह गुरुङको अध्यक्षता, सहदेव श्रेष्ठको प्रमुख आतिथ्यता, लोकतान्त्रिक मगर संघ सिद्धार्थनगर सचिव रीतु सारुको स्वागत तथा एमाले सिद्धार्थनगर उपसचिव एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक सरोज ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नवनिर्वाचित कमिटीलाई लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य सहदेव श्रेष्ठले सपथग्रहण गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij