
बुधवार , चैत्र १२, २०८१
भैरहवा, १३ चैत । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, रुपन्देहीको १३ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ । मंगलबार संघको प्रधान कार्यालय भैरहवामा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रुमाखर गौतमसहित कार्यसमितिको पदस्थापन भएको हो ।
पदस्थापन कार्यक्रममा वक्ताहरुले बुटवल–नारायणगढ सडकको निर्माण कार्य सम्पन्न नहुँदा धेरै क्षति भोग्नुपरेको जनाउँदै यसले उपभोक्तासँगै व्यवसायी मारमा परेको गुनासो गरे । भारतीय ट्रकले बोकेर ल्याएको सामान भन्सार विन्दुमै पल्ट्री गर्नुपर्ने र ढुवानीमा अनावश्यक लगाइएको कर हटाउनुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व गृहमन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले व्यवसायीलाई संगठित हुन आग्रह गरे। ‘पहिला संगठित हुनुस् ’उनले भने–‘संगठित हुनुभयो भने निश्चित रुपमा आफ्नो व्यवसायलाई संरक्षण गर्न सक्नुहुन्छ ।’ लुम्बिनी ट्रक यातायात व्यवसायी संघलाई सबैले मिलेर अझ राम्रो संस्था बनाउनुपर्नेमा उनले जोड दिए । उनले ट्रक यातायात व्यवसायीका समस्या समाधानका लागि विगतदेखि नै आफूले पहल गर्दै आएको र निरन्तर गरिरहने बताए ।
संघका नवनिर्वाचित अध्यक्ष रुमाखर गौतमले सबैको राय–सुझाव लिएर त्यसलाई अक्षरस पालना गर्ने बताए । ‘हामीबाट सरकारले विभिन्न नाममा कर लिन्छ’उनले भने–‘ढुवानीमा समेत भ्याट तिर्नुपरेको छ ।’ अध्यक्ष गौतमले ट्रक यातायात व्यवसायी, चालक, मजदूर पीडित रहेको यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले आफूहरुले विगतदेखि उठाउँदै आएको भारतीय ट्रकको ओभरलोड रोक्नुपर्ने लगायतका मागमा पुनः तयारी साथ सरकारलाई घचघच्याउने काम गर्ने बताए ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल, लुम्बिनी प्रदेश अध्यक्ष यम प्रसाद पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष विष्णु प्रसाद खरेल, संस्थापक महासचिव विकास रायमाझी, लुम्बिनी प्रदेश क्लबका अध्यक्ष कमल रायमाझी लगायतले भनाइ राखेका थिए ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघको १३ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट अध्यक्षमा रुमाखर गौतम, वरिष्ठ उपाध्यक्षमा मधुसुदन आचार्य, प्रथम उपाध्यक्षमा अमित थापा, उपाध्यक्षमा झविन्द्र बहादुर चोखाल, महासचिवमा बाल किशुन गुप्ता बनिया, सचिवमा लिला प्रसाद श्रेष्ठ र कोषाध्यक्षमा रविन खरेल निर्वाचित भएका थिए । त्यस्तै कार्यसमिति सदस्यहरुमा अकलेश अग्रहरी, युवराज क्षेत्री, अमित कुमार चौधरी, एक नारायण पाण्डे र राम बिहारी जैसवाल निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij