
बुधवार , चैत्र १२, २०८१
भैरहवा, १३ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई ‘मिनी नेपाल’ को संज्ञा दिदै यस क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक अन्तरक्रिया कार्यक्रमको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई पर्यटकीय र कृषि दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्रका रूपमा प्रस्तुत गरे ।
‘लुम्बिनीमा पर्यटकीय, कृषि र अन्य धेरै हिसाबले प्रचुर सम्भावना छ । लुम्बिनी प्रदेशमा हिमाल, पहाडदेखि तराईका जिल्लासम्म रहेका छन् । गौतमबुद्धको जन्मस्थलका कारण ऐतिहासिक महत्व भएको यस स्थानले मात्र बुद्धिजम नभइ हिन्दू धर्मका लागि पनि साँस्कृतिक महत्व राख्छ’उनले भने ।
त्यसै गरी लुम्बिनीमै रहेका तीनवटा राष्ट्रिय निकुञ्जको बारेमा चर्चा गर्दै लुम्बिनी मिनी नेपालको रुपमा परिचित भएको बताए । प्रदेश सरकारको कामलाई गति दिइएको उनले बताए । ‘तीन तहको सरकारको हकमा समन्वय र सहकार्यको आधारमा काम अघि बढाएका छौं । कानूनले निर्दिष्ट गरेका कार्यहरूलाई अघि बढाएका छौं । संघीय सरकारमार्फत प्रदेशका सचिव र मुख्य सचिवलाई आउनको लागि अनुरोध गरेका छौं ।
प्रमुख सचिव संघीय सरकारले पठाए पनि मन्त्रालयको सचिव प्रदेशबाटै नियुक्त गर्नुपर्ने निवेदन गरेका छौं’मुख्यमन्त्री आर्चाले भने,‘सबै हिसाबले प्रदेशलाई बलियो र समृद्ध बनाउने दिशामा सरकारले काम गरिरहेको छ।’
प्रदेश सरकारले कर्मचारीको वृद्धि विकासमा रोक लागेको अवस्थामा ऐन निर्माण गरेर खोलिसकेको बताए । ‘लोकसेवामार्फत बढुवाको प्रक्रिया पनि जारी छ । संघीय कानूनले निजामती सेवा ऐन नबने पनि, प्रदेशले निजामती कर्मचारी ऐन बनाई सेवा प्रवाहलाई अघि बढाएको छ । सेवा प्रवाहमा कुनै समस्या छैन’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij