
बिहिवार , चैत्र १३, २०८१
भैरहवा, १४ चैत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अगाडि नबढाइएको भन्दै आपत्ति जनाएको छ । विभिन्न षड्यन्त्र गरी चैत १३ गतेसम्म पनि निर्वाचन अगाडि नबढाइएको भन्दै अनेरास्ववियुले बुधबार भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्की प्रसाद जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।
क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीले तत्काल निर्वाचनको नयाँ कार्यतालिका प्रकाशन नगरिए अनेरास्ववियु निर्वाचन गराउनका लागि जुनसुकै हदसम्म पनि जान तयार रहेको चेतावनी दिए । उक्त आन्दोलनबाट सृजित सम्पूर्ण क्षतिको स्वयं क्याम्पस प्रशासन जिम्मेवार हुने उनले बताए ।
चैत ५ गते त्रिविका अधिकतम क्याम्पसमा स्ववियु निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष तवरले भइरहेको अवस्थामा भैरहवा बहुमुखी क्याम्पसमा विभिन्न पाँचवटा विद्यार्थी संगठनले तालाबन्दी गरेको र क्याम्पस प्रशासन एवं निर्वाचन समितिको मिलेमत्तोमा आम विद्यार्थीहरुको मताधिकारको हनन् हुने गरी क्याम्पसमा निर्वाचन प्रक्रिया अघि नबढाइएको अनेरास्ववियुको आरोप छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij