२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अवैध घडेरी प्लटिङ रोक्न सरकार लागिपर्छ : मुख्यमन्त्री आचार्य

बिहिवार , चैत्र १३, २०८१

दाङ, १४ चैत । लुम्बिनी प्रदेश सरकारले नमुना राजधानी शहर गुरुयोजना कार्यान्वयनमा अवरोध पु¥याउने अवैध घडेरी प्लटिङ रोक्न कडा कदम चाल्ने भएको छ । घण्टदेव युवा क्लब राप्ती गाउँपालिकामा आबद्ध युवाहरुले मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको ज्ञापनपत्रमा राजधानी क्षेत्रका विभिन्न स्थानमा भूमाफियाहरूले गैरकानुनी रूपमा कित्ताकाट तथा किनबेच गरिरहेको गुनासो उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा राजधानी गुरुयोजनाविपरीत भइरहेका अवैध गतिविधिहरू रोक्न तत्काल कारबाहीको माग गरिएको छ । मुख्यमन्त्री आचार्यले ज्ञापनपत्रप्रति गम्भीर ध्यान दिदै कडा अनुसन्धान गर्न तथा अवैध प्लटिङ रोक्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले सरकार नदी सभ्यतामा आधारित आधुनिक राजधानी निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै गुरुयोजनाविपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे । सरोकारवाला निकायहरूसँग समन्वय गरी अवैध घडेरी प्लटिङ रोक्न सरकार सक्रिय रूपमा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले ध्यानाकर्षण गराउने सबै पक्षलाई धन्यवाद दिएका छन् ।