२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

युसीएमएसमा स्थानीयको ५० प्रतिशत रोजगारी सुनिश्चित गर्न माग

शुक्रवार , चैत्र १४, २०८१

भैरहवा, १५ चैत । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) सँग विभिन्न माग राख्दै स्थानीय तथा संघ–संस्थाहरुले ज्ञापनपत्र बुझाएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ मा क्रियाशील १७ वटा संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसहित टोलीले बिहीबार युसीएमएस पुगेर ज्ञापनपत्र बुझाएको स्थानीय सुनिल कुमार पुनले बताए । 

युसीएमएसमा रोजगारीमा स्थानीयको ५० प्रतिशत सुनिश्चितता हुनुपर्ने, औषधिउपचारमा कम्तीमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गर्नुपर्ने, हेलिकप्टर ल्याण्ड सम्बन्धमा विचार–विमर्श हुनुपर्ने स्थानीयको माग छ । 
‘युसीएमएसमा कार्यरत कर्मचारीमध्ये ५० प्रतिशत स्थानीयबासी नै हुनुपर्छ,’ स्थानीय अगुवा सुनिल कुमार पुनले भने ।

त्यस्तै स्थानीय संघ–संस्था, क्लब, मठ–मन्दिर, आमा समूह, विद्यालय, मदरसा आदिलाई आर्थिक तथा भौतिक सहयोग गरी सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने, निःशुल्क स्वास्थ्य शिविरसहित स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ ।

स्थानीयले युसीएमएसका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार पीएसलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

WhatsApp Image 2025-03-27 at 3.18.45 PM (1).jpeg