२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ : पूर्वराष्ट्रपति

शुक्रवार , चैत्र १४, २०८१

लुम्बिनी, १५ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचार–प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् । लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गरिन् ।

‘गौतमबुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,’उनले भनिन्, ‘त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।’

लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् । बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।