
शनिवार , चैत्र १५, २०८१
भैरहवा, १६ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रष्स्पिर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई शनिबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई समानुपातिकभन्दा पनि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिष्पर्धा गरेर अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखे ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा ‘नेतृत्वमा महिलाको सहभागीता, न्याय र दिगो विकासको आधार शिला’ भन्ने मान्यताका आधारमा अन्तरसंवाद गरिएको थियो । त्यसअवसरमा मुख्यमन्त्री आचार्यले मानवीय विकासका लागि तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
‘तथ्यांकका हिसाबले हेर्ने हो भने मातृ मृत्युदर, बाल मृत्युदर अन्य प्रदेशको तुलनामा उच्च छ । कुपोषण पनि बढ्दो छ । यी समस्या समाधान गर्न तीन तहका सरकारले विशेष ध्यान दिनुपर्नेछ । सीमान्तकृत समुदायमा जनचेतनाको अभिवृद्धिका लागि विशेष जोड दिनुपर्छ । जसरी हामीले जनचेतना अभियान चलाउनुपर्ने हो, त्यो चलाउन सकेनौं कि एकपटक समीक्षा गर्न जरुरी छ,’उनले भने ।
प्रदेशमा कुपोषण अन्त्यका लागि पोषण विशेष कार्यक्रम थालेका छौं । पौष्टिक आहारका कार्यक्रम अघि बढाएका छौं । तर, यतिले मात्र पुग्दैन । जबसम्म लक्षित वर्गसम्म जनचेतनाको कार्यक्रम पुर्याउन सक्दैनौं, समस्याको समाधान सम्भव छैन । यसमा सबै पक्षले ध्यान दिन जरुरी छ ।’
उनका अनुसार भौतिक पूर्वाधारको विकास जतिसुकै गरे पनि चेतनाको विकास नभएसम्म त्यसको अर्थ हुँदैन । लुम्बिनी प्रदेशमा तीन तहका जनप्रतिनिधिहरूलाई एकै थलोमा भेला गराएर प्रदेशको समृद्धिमा योगदान पुर्याइएको उनले बताए ।
काम गर्ने क्रममा देखा परेका समस्याहरूलाई सहकार्यबाट समाधान गर्न सकिने उल्लेख गर्दै कानूनी जटिलता फुकाउन प्रदेश सरकारले ध्यान दिने पनि मुख्यमन्त्री आचार्यले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij