
सोमवार , चैत्र १७, २०८१
बुटवल, १८ चैत । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन रेसुङ्गा कर्पोरेट कप तथा मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ । महासंघको ७० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिता अन्तरगत कर्पोरेट कपको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) प्रमुख रामकृष्ण खाणले खेलको माध्यमबाट भातृत्व विकासमा टेवा पुग्ने बताए ।
सधै समाजका लागि कलम चलाउने श्रमजीवीहरु खेलकूदको माध्यमबाट जोडिनु सकारात्मक भएको उल्लेख गरे । नगरप्रमुख खाणले पत्रकार बिनाको समाजको कल्पना गर्न नसकिने उनले बताए । पत्रकार समाजको ऐना भएको उनको भनाइ छ ।
बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित ग्रिनफिल्ड फुटसल एरिनामा जारी प्रतियोगिता अन्तरगत आइतबार समूह चरणसहित पहिलो सेमीफाइनल खेल सम्पन्न भएको छ । पहिलो सेमीफाइनल आयोजक महासंघ रुपन्देहीलाई पराजित गर्दै ईन्जिनियर्स एसोसिएसन रुपन्देही फाइनल प्रवेश गरेको छ । उसले महासंघलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
यसैबीच अन्तिम सेमिफाइनल खेल सोमबार (आज) हुने प्रतियोगिताका संयोजक सुमन रश्मी श्रेष्ठले जानकारी दिए । सोमबार फाइनल प्रवेशका लागि शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबीच हुने संयोजक श्रेष्ठले जानकारी दिए । कर्पोरेट कप अन्तरगत २२ वटा समूहको सहभागिता थियो ।
प्रतियोगितामा सोमबार मिडिया कप फुटसल प्रतियोगिता सुरु हुने छ । उक्त प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चार गृहको सहभागीता छ । आपसी सद्भाव तथा भातृत्व विकासका लागि प्रतियोगिता आयोजना गरिएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । महासंघले आयोजना गरेको कर्पोरेट कप फुटसलमा विजेताले नगद रु. २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद राशी रु.१५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसै गरी मिडिया कपतर्फ विजेताले रु. १७ हजार ७ सय ७७ र उपविजेताले ७ हजार ७ सय ७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दुवै इभेन्टमा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक तथा सर्वाधिक गोलकर्तालाई नगद राशीले सम्मान गरिने महासंघका सचिव सी.पी. खनालले जानकारी दिए । प्रतियोगितालाई जित र हारको रुपमा भन्दा पनि आपसी सद्भाव र सम्बन्ध विस्तारको रुपमा लिइएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij