२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शान्ति समाज रुपन्देहीद्वारा युवा विद्यार्थीसँग जलवायु सम्वाद कार्यक्रम

सोमवार , चैत्र १७, २०८१

बुटवल, १८ चैत । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलस्थित अक्सफोर्ड कलेजमा जलवायु न्याय केन्द्रित अभियान अन्तरगत युवा विद्यार्थीहरुसँग जलवायु सम्वाद कार्यक्रम गरेको छ ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पूर्व सभापति गोविन्द खनालले जीवनमुखी, जगतमुखी, सेवामुखी अभियानमा समर्पित शान्ति समाजले  स्थापनाकालदेखि नै वातावरण संरक्षण र जलवायु परिस्थिति सन्तुलनको लागि सचेतता बढाउँदै आएको उल्लेख गरे ।  उनले जलवायु परिवर्तनले हिमालहरु नांगा पहाडमा सीमित हुने खतरा बढेको चिन्ता व्यक्त गर्दै यथाशीघ्र हिमालय तथा चुरो पहाड बचाउन अभियान चाल्नुपर्नेमा जोड दिए ।

शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले जलवायु न्यायको लागि शान्ति समाजको विशेष अभियान अवधारणापत्र प्रस्तुत गरे ।  अवधारणा पत्रमार्फत उनले जलवायु न्याय केन्द्रित अभियान–जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा समावेश गर्न सरकार, सांसद र राजनैतिक दललाई आग्रह गरे । उनले झण्डै १७ वर्षदेखि पर्यावरण संरक्षण गर्न निरन्तर अभियानहरु जारी राखेको र सरकारलाई घच्घचाएको  बताउँदै त्यसैअनुरुप नयाँ  युगका नयाँ पुस्तालाई जलवायु परिवर्तन र यसको असरबारे  जानकारी  तथा सचेतना दिने उद्देश्यले युवा विद्यार्थीसँग जलवायु सम्वाद कार्यक्रम गरेको जानकारी दिए।

कार्यक्रममा अक्सफोर्ड कलेज व्यवस्थापन संकाय संयोजक नारायण सापकोटाले शान्ति समाजले पर्यावरण संरक्षणको लागि गरिएको अभियानमा आफूहरु साथ रहने प्रतिवद्धता व्यक्त गरे । उनले नयाँ पुस्तालाई शान्ति समाजका जीवन र जगतमुखी कार्यक्रमहरु कलेज तथा विद्यालयका युवा विद्यार्थीहरुमाझ निरन्तर लैजान अनुरोध गरे ।

विद्यार्थी विशाल हमालले शान्ति समाजले आफ्नो कलेज छनौट गरेर कार्यक्रम गर्दा धेरै सिक्ने अवसर मिलेको बताउँदै शान्ति समाजको अभियानमा अभियन्ता भएर जोडिन इच्छुक रहेको बताए । कार्यक्रममा शान्ति समाजको केन्द्रीय सदस्य रत्ना कंडेल, रुपन्देहीका सह–सचिव अर्जुन कुवर, कलेजका शिक्षक–कर्मचारीको उपस्थिति थियो ।

रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सचिव लिलाधर लुइँटेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।