
मंगलवार , चैत्र १८, २०८१
भैरहवा, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएको छ । वि.सं. २००७ सालमा जन्मिएका बोहराको मंगलबार १० बजेर १५ मिनेटमा काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको हो ।
बोहराका दुई श्रीमती मञ्जु बोहरा र उन्नति शिला बोहरा रहेका छन् । उनका दुई छोरा गौरव र प्रज्वल रहेका छन् । जेठो छोरा गौरव बुद्ध एअरका सिनियर पाईलट हुन् भने कान्छो छोरा प्रज्वल आईटी इन्जिनियर हुन्। पछिल्लो समय दुवै जना राजनीतिमा सक्रिय छन् । बोहराकी एक छोरी थिइन् । छोरीको गत फागुनमा निधन भएको थियो ।
राजनीतिमा पाका र दुरदर्शी नेताको रुपमा बोहराले आफ्नो परिचय बनाएका थिए । पञ्चायत कालदेखि गणतन्त्रसम्मको अनुभवले खारिएका नेता बोहरा रुपन्देहीको विकासका पर्यावार्चीको रुपमा रहेका थिए । सानैदेखि राजनीतिक संस्कारमा हुर्किएका बोहरा रुपन्देही जिल्लाबाट पहिलोपटक राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका बोहरा २०३८ सालमा पर्यटन सहायक मन्त्रीको रुपमा सरकारमा सहभागि भएका थिए ।
३१ वर्षको उमेरमै मन्त्री बनेर सरकारमा पुगेका बोहरा २०४० सालमा पर्यटन राज्यमन्त्री बन्न सफल भएका थिए । २०४२ सालको आम निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा पुन निर्वाचित भएका बोहरा २०४३ सालमा निर्माण तथा यातायात मन्त्रालयको राज्यमन्त्री बने भने २०४४ सालमा सोही मन्त्रालयकै मन्त्री हुन सफल भएका थिए । २०६२/०६३ को जनआन्दोलन र २०६४ को निर्वाचनपश्चात २०६७ वन तथा भूसंरक्षण मन्त्री भएका बोहराले निकै महत्वपुर्ण काम गरेका छन् ।
वनमन्त्री हुँदा नेपाललाई विश्वमाझ चिनाउनका लागि मन्त्री बोहराले सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रपिरिषदको बैठक बसाउने, जलवायु परिवर्तनबाट भएको क्षति न्यूनीकरण गर्नका लागि कालापत्थर टु कोपनहेगन, वातावरण, प्रकृति तथा वन्यजन्तु शंरक्षण, डब्लीङ द टाईगरको रणनीति लागू गर्ने, मेल्टिङ हिमालयस मुद्दालाई विभिन्न फोरमहरुमा उठाउदै पर्वतालय संरक्षण गर्ने सम्मका महत्वपूर्ण कार्यक्रम गरेको बोहराको सचिवालयले जनाएको छ ।
आफ्नो राजनीतिक जीवनकालमा सरकार र संसदमा सहभागी भएका बोहराले सरकार, सदन र आवश्यक पर्दा सडकबाट पनि जनताको आवाज बोलिरहेन्थे । चार दशकदेखि राजनीतिमा क्रियाशील बोहरा २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेका थिए ।
यस्तो छ दीपक बोहराको जीवनी
जन्ममिति : १८ चैत २००७ साल
जन्मस्थान : तानसेन, पाल्पा, साविक लुम्बिनी अञ्चल
पिता : स्व. बडाहाकिम प्रतिमान चन्द बोहरा
माता : स्व. निमा बोहरा
श्रीमती : मञ्जु बोहरा, प्राज्ञ गीतकार उन्नती बोहरा “शीला”
सुपुत्र : गौरव बोहरा, प्रज्वल बोहरा
सुपुत्री : स्व. चाँदनी बोहरा (ग्यारेट)
शैक्षिक योग्यता : स्नातक (राजनीति शास्त्र, त्रि.वि..)
राजनैतिक संलग्नता : दीपक बोहरा नेपाली राजनीतिमा चार दशकदेखि सक्रिय छन् । उनले विभिन्न चुनावमा प्रतिनिधित्व गरेका छन् ।
२०३६ र २०४२ सालमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यको रूपमा निर्वाचित ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित।
मन्त्री पद : दीपक बोहरा विभिन्न महत्वपूर्ण मन्त्रालयहरूमा मन्त्रीको रूपमा कार्य गरेका छन् ।
आपूर्ति मन्त्रालय (२०७३)
श्रम तथा रोजगार मन्त्रालय (२०७२)
वन तथा भूसंरक्षण मन्त्रालय (२०६७)
निर्माण तथा यातायात मन्त्रालय (२०४४)
राज्यमन्त्री – विभिन्न मन्त्रालयमाः पर्यटन, निर्माण तथा यातायात
महत्वपूर्ण योजनाहरू र योगदानहरू :
सगरमाथा आधार शिविरमा मन्त्रीपरिषद् बैठक (२००९)
मेल्टिङ हिमालयस मुद्धामा वैश्विक फोरमहरूमा आवाज उठाउनु (२०१०)
बाग्मती नदीमा एकलाख वृक्षारोपण (२००९)
वल्र्ड बैंकको पहलमा ’ग्लोबल टाइगर इनिशियटिव’को सुरुवातमा अहम भूमिका
वन्यजीव र बाघ संरक्षणका लागि महत्वपूर्ण पहलहरू
अन्य प्रमुख जिम्मेवारीहरू :
पूर्वअध्यक्ष : राष्ट्रिय प्रकृति संरक्षण कोष, बैंक अफ काठमाण्डू
संरक्षक : डा. हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठान
दीपक बोहराको नेतृत्वमा नेपालका पर्यावरणीय मुद्दाहरू र वन संरक्षणका लागि उल्लेखनीय कदमहरू चालिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij