
मंगलवार , चैत्र १८, २०८१
भैरहवा, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ नेता, संस्थापक सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा तीन दिन शोक मनाउने भएको छ ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले वरिष्ठ नेता बोहराको निधनपछि बसेको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिेएको जानकारी दिए ।
बोहराको मंगलबार (आज) बिहान काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । प्रवक्ता श्रेष्ठद्वारा जारी शोक वक्तव्यमा बोहराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको उल्लेख छ।
उनले राप्रपा निर्माणमा बोहराको योगदान सदैव स्मरण गरिने बताए । बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चैत २० गते बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने र उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाले जनाएको छ ।
पूर्वमन्त्री समेत रहेका बोहराको मंगलबार (आज) बिहान काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij