२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वर्गीय पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा दीप प्रज्वलन

मंगलवार , चैत्र १८, २०८१

भैरहवा, १९ चैत । २०८१ चैत १५ गते काठमाडौंमा रिपोर्टिङका क्रममा ज्यान गुमाएका एभी न्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा १ सय ८ वटा दीप प्रज्वलन गरिएको छ ।
मधेशी पत्रकार समाज र मर्चवार प्रेस क्लब, रुपन्देहीको संयुक्त आयोजनामा भएको दीप प्रज्वलन कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै स्वर्गीय पत्रकार रजकको निष्ठा, समर्पण र बलिदानप्रति सम्मान व्यक्त गरिएको हो ।

मधेशी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष राम विकास चौधरीले पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकारिता क्षेत्र असुरक्षित बन्दै भन्दै चिन्ता व्यक्त गरे । ‘एक सत्यनिष्ठ, मिहिनेती र निर्भिक पत्रकारलाई आन्दोलनको क्रममा यसरी जलाएर हत्या गरिनु केवल व्यक्तिगत क्षति मात्र होइन, यो सम्पूर्ण पत्रकारिता जगतका लागि गम्भीर आघात हो, ’चौधरीले भने । 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्व कार्यसमिति सदस्य समेत रहेका  चौधरीले लुम्बिनीलाई शान्तिभूमि मात्र नभइ न्यायको आवाज उठाउने स्थलका रूपमा परिभाषित गर्दै समाजमा व्याप्त अन्याय, दमन र हिंसाकाविरुद्ध सशक्त रूपमा उभिनुपर्ने धारणा राखे ।

मधेशी पत्रकार समाज नेपाल, रूपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले पत्रकार सुरेश रजकको बलिदानलाई व्यर्थ जान दिन नहुने बताउँदै पत्रकारहरूको सुरक्षाका लागि एकजुट हुन आह्वान गरे । ‘पत्रकारितालाई भयमुक्त बनाउन, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र अपराधीलाई कठोर कारबाही गराउन हामी निरन्तर आवाज उठाउनेछौं, ’उनले भने ।

त्यस्तै, पत्रकार रजकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै मर्चवार प्रेस क्लबका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य हृदयराम गुप्ताले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न राज्यले कडा कदम चाल्नुपर्ने माग गरे ।

कार्यक्रममा सहभागी पत्रकार, भिक्षु, स्थानीय बुद्धिजीवि, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मृतक आत्माको चिरशान्तिको लागी प्रार्थना गर्दै पत्रकार रजकको हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारसँग माग गरे ।

WhatsApp Image 2025-03-31 at 8.02.38 PM (1) (1).jpeg