२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारको जवाफ चाहियो : राज्य व्यवस्था समिति

बुधवार , चैत्र १९, २०८१

भैरहवा । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले चैत्र १५ गते भएको घटनाका बिषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले राजावादीको प्रदर्शनमा भएको घटनाका बिषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले चैत २२ गते शुक्रबारको बैठकमा गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

बैठकमा सांसदहरुले चैत्र १५ गते शुक्रबार भएको घटनाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए । साथै उनीहरुले उक्त घटनाको न्यायीक छानविनको समेत माग गरेका छन् ।

कांग्रेस सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिनका लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताए । उनले तीनकुने घटनामा सरकारको बुझाइ समिति समक्ष आउनुपर्ने बताए । 

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारको कमजोरी देखिएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए । आफ्नै प्रहरीले घेरामा रहेका बेलामा दुर्गा प्रसाईंलाई समात्न नसक्ने र अहिले छिटो पक्राउ गर्छौ भन्दा कसैले पत्याउन नसक्ने उनको भनाई छ । 

त्यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीय रुपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायीक छानबिन हुनुपर्ने बताए । राप्रपाका नेताहरु समेत उक्त प्रदर्शनमा जाने तयारी गरेपनि दुर्गा प्रसाईंको फोटो देखेपछि नगएको उनको भनाई छ । उनले कार्यक्रम सुरु नहुँदै मञ्चमा अश्रुग्यास प्रहार गरेको देखिएको प्रति सरकारको कडा आलोचना गरे । 

सांसद तामाङले आफ्ना नेताहरुलाई समेत भएभरका कानुन लगाएर थुन्ने काम भएको जिकिर गरे । त्यस्तै अन्य सांसदहरुले राज्य व्यवस्था समितिको क्षेत्राधिकारभित्र पर्ने चैत्र १५ गतेको घटनालाई प्राथमिकतामा नराखेको भन्दै सभापतिको चर्को आलोचना गरेका थिए ।