
शुक्रवार , चैत्र २१, २०८१
भैरहवा, २२ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्या संन्यास आश्रम, भैरहवाका बटुकलाई आधुनिक शिक्षा र विश्वमा भइरहेका नविनतम जानकारी प्रदान गर्ने उद्देश्यले सूचना प्रविधि ज्ञान प्रदान गर्न लागिएको छ । नेपटेक ट्राइव र अमेरिकन कर्नर भैरहवाको आयोजनामा बटुकका लागि चैत २३ गते शनिबार (भोली) सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा ‘आध्यात्मसँग आइटी’ कार्यक्रम सञ्चालन हुने भएको हो ।
रुपन्देहीका विभिन्न स्थानमा सूचना प्रविधिबारे सचेतना र जानकारी प्रदान गर्दै आएको संस्था नेपटेक ट्राइवका अध्यक्ष प्रवीण अधिकारीले पहिलोपटक आयोजना गरिएको प्रशिक्षणमा आश्रमका बटुकलाई सूचना प्रविधिसम्बन्धि प्रारम्भिक जानकारी गराइने बताए । यसपछि पनि क्रमशः विभिन्न चरणमा यस्ता कार्यक्रम सञ्चालन गरिने उनले बताए । आश्रममा अहिले ४८ बटुक अध्ययनरत छन् ।
आश्रमका प्राचार्य घनश्याम भट्टराईले वटुकलाई आश्रमभित्र सूचना प्रविधिसँग घुलमिल हुन रोक लगाए पनि यस्ता प्रशिक्षणले उनीहरुलाई विश्वमा सूचना प्रविधिका क्षेत्रमा भइरहेको परिवर्तनबारे बुझन र ज्ञानको दायरा बढाउन मद्दत पुग्ने बताए । ‘हाम्रा विद्यार्थी संस्कृतमा जानकार भए पनि बाहिरी प्रविधिमा पहुँच हुँदैन,’उनले भने, ‘१०/१२ कक्षासम्म बटुकलाई प्रविधिसँग घुलमिल हुन दिदैनौ ।’
नेपटेक ट्राइव संस्थाका सचिव सुधीर आर्यालले प्रशिक्षणका क्रममा सूचना प्रविधि, साइबर सुरक्षाका वर्तमान प्रविधि र डिजिटल माध्यमको सहयोगबाट परम्परागत, धार्मिक र अध्यात्मिक अभ्यासलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे जानकारी गराइने बताए । ‘विशेषज्ञ, धार्मिक र आध्यात्मिक गुरु, विद्यार्थी र प्रविधिमा रुची राख्नेहरुबीच अन्तरक्रिया हुनेछ,’उनले भने, ‘साथै साइबर अवधारणा, डिजिटल सञ्चार नैतिकता, प्रविधि र आध्यात्मिक अभ्यासको भविष्यबारे बहस पनि गरिनेछ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij