२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मथुरा देशकै पवित्र तीर्थस्थलका रूपमा विकसित हुन्छ : मुख्यमन्त्री आचार्य

शनिवार , चैत्र २२, २०८१

अर्घाखाँची, २३ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताएका छन् । मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवीभागवत एवम् शतचण्डी महायज्ञ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्वको स्थलका रूपमा विकास गरिने बताएका हुन् ।

‘यो ठाउँको समृद्धि र विकासका निम्ति विभिन्न क्षणमा सरकारको तर्फबाट सहयोग हुने काम भइरहेको छ । चालू आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति गर्न बजेटले सम्बोधन गरेको छ । यसका साथै यहाँ पानीको समस्या थियो, त्यसलाई हल गर्ने उद्देश्यका साथ खानेपानीको काम अघि बढेको छ,’उनले भने–‘यो स्थललाई अर्घाखाँची वा लुम्बिनी प्रदेशको मात्रै नभइ देशकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी छ ।’

उनले जंगबहादुर जन्मिएको भनेर चिनिने ऐतिहासिक पौवाको समेत संरक्षण गर्ने काम सरकारले गरेको जानकारी गराए । भविष्यमा बृहत्तर गुरुयोजना निर्माण गरेर मथुराको समुचित विकास गरिने योजना रहेको उनले उल्लेख गरे ।

भक्तजनको अभिलाषा र चाहनाअनुसार प्रदेश सरकारले धार्मिक स्थलको विकासलाई प्राथमिकता दिने बताउँदै उनले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन समेत सरकारले विशेष ध्यान दिने स्पष्ट पारे ।