२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काँग्रेस–कम्युनिष्टकै कारण नेपालमा राजनीतिक अस्थिरता : उपेन्द्र यादव

शनिवार , चैत्र २२, २०८१

भैरहवा, २३ चैत । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजनीतिक अस्थिरताको कारण काँग्रेस–कम्युनिष्ट भएको आरोप लगाएका छन् । उनले राजनीतिक अस्थिरताकै कारण मजबुत सरकार बन्न नसकेको बताए ।

पार्टी निकट समाजवादी विद्यार्थी युनियन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई शनिबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै अध्यक्ष यादवले मजबुत सरकार बनाउँछौं भनेर काँग्रेस–कम्युनिष्ट मिले पनि यो सरकार असफल भएको दावी गरे । उनले संविधान जारी भएपछि मुलुकमा ९ वर्षमा १३ वटा सरकार बनेको बताए । 

अध्यक्ष यादवले नेपालको वर्तमान सरकार गठन अघि भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन दिने भने पनि नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र अहिले भइरहेको उनले दावी गरे । ‘यसभन्दा पहिला यस्तो कहिल्यै थिएन्, उनले भने–काँग्रेस–कम्युनिष्टको शासनमा व्यवस्थाकाविरुद्ध धारणा बनिरहेको छ । काँग्रेस–कम्युनिष्टले लोकतन्त्रको रक्षा गर्ने तागत राख्दैनन् । ’ 

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले जनताको आक्रोश बढिरहेको बताए । उनले संविधान संशोधन गर्नका लागि यो सरकार बनेको भनिए पनि २०८७ सालमा गर्ने कुरा बेइमानीपूर्ण भएको बताए । ‘यो सरकारको आयू नै २०८७ सम्म छैन, ’उनले भने । कृषिको आधुनिकरण र उद्योग–कलकारखाना स्थापना नभएसम्म मुलुकमा गरीबी र बेरोजगारी अन्त्य हुन नसक्ने उनले बताए ।

उनले विकासको सबैभन्दा ठूलो आधार शिक्षा भएको बताए । दुनिया बदल्ने सबैभन्दा ठूलो तागत शिक्षा भएको उनले बताए । जीवनमा परिवर्तन ल्याउन संघर्ष गर्नुपर्ने उनको भनाइ छ । उनले निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि विद्यार्थी अग्रमोर्चामा रहेर आन्दोलनमा होमिएको बताए । विद्यार्थी सडकमा उत्रिदा क्रान्ति र परिवर्तन भएको उनको भनाइ छ । उनले ३५ वर्षसम्म सरकार चलाएका काँग्रेस-कम्युनिष्टले शिक्षाको विकास गर्न नसकेको दावी गरे ।मुलुकमा सुशासन, अर्थतन्त्र सुधार, राम्रो शिक्षा र स्वास्थ्य आवश्यक रहेको र यो काँग्रेस–कम्युनिष्टबाट हुनै नसक्ने उनले बताए । जसपा नेपालले संसद् र सडक दुवैबाट संघर्ष गर्ने अध्यक्ष यादवले बताए ।

IMG_1934.JPG

त्यस्तै जसपा नेपालका महासचिव तथा मधेश प्रदेशका संस्थापक मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताए । उनले समयसापेक्ष शिक्षा आवश्यक रहेको बताए । पार्टीका महासचिव रामकुमार शर्माले वर्तमान सरकारले जनताको समस्या समाधान गर्न नसकेको बताए । उनले जसपा नेपालले दुई दलीय व्यवस्था नमान्ने जिकिर गरे ।

जसपा नेपालकी उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य रेखा यादवले समावेशी समानुपातिक प्रतिनिधित्वविरुद्ध षडयन्त्र भइरहेको बताइन् । पार्टीका केन्द्रीय सदस्य विन्देश्वर यादव (बिक्की)ले उत्पीडित समुदायलाई अधिकार दिलाउन जसपा नेपाल अघि बढेको बताए । केन्द्रीय सदस्य बलराम महतोले महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे ।

केन्द्रीय सदस्य अशोक यादवले शिक्षामा आमूल परिवर्तन आवश्यक रहेकोमा जोड दिए । केन्द्रीय सदस्य तथा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले विद्यार्थीहरुले निरन्तर आवाज उठाइराख्नुपर्ने बताए ।
नेता कैलाश गुरुङले २०८४ सालमा जसपा नेपालले बहुमत ल्याउने गरी अघि बढ्नुपर्ने बताए । पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले आन्दोलनमा पार्टीले उठाएको मुद्दा स्थापित गर्नका लागि आन्दोलनमा जान तयार रहेको बताए ।

प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले अधिकारका लागि लड्ने हातलाई मजबुत बनाउन आवश्यक रहेको बताए । जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले उपेन्द्र यादवले वर्तमान सरकारलाई झुकाउन सफल भएको बताए । कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बिना आन्दोलन अधिकार प्राप्ती नहुने जिकिर गरे ।

पश्चिम नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादवले उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे । समाजवादी युवा संघ, नेपालकी केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज रेनु सिंहले युवा विद्यार्थीका काधमा जिम्मेवारी आएको बताइन् ।

समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका सह–संयोजक संजय राईले नेपाली जनताको बलिदानीपूर्ण आन्दोलन र संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताए ।

समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक रमेश यादवको अध्यक्षता, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमख आतिथ्यता, केन्द्रीय सदस्य रीता यादवको स्वागत तथा महाधिवेशन आयोजक समिति सचिव मनिष यादव र समाजवादी विद्यार्थी युनियनका सचिव राहुल यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ।