
शनिवार , चैत्र २२, २०८१
अर्घाखाँची, २३ चैत । संस्कृत व्याकरणका पिता महर्षि पाणिनीको तपोभूमिमा हुन लागेको पाणिनी तपोभूमि सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मेलनस्थलको स्थलगत निरीक्षण गरी तयारी अवस्थाबारे जानकारी लिएका छन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका क्षेत्रलाई केन्द्रबिन्दु बनाई सम्मेलन यही चैत २७ र २८ गते आयोजना गरिन लागेको सम्मेलनको पूर्वसन्ध्यामा मुख्यमन्त्री आचार्यसहित सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको टोलीले अवलोकन भ्रमण गरेको हो ।
स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व राख्ने पाणिनी तपोभूमिको समुचित व्यवस्थापन र प्रचारप्रसारमार्फत यस क्षेत्रलाई विश्वभर चिनाउन सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले सम्मेलनको तयारीका क्रममा सुरक्षाको व्यवस्था, यातायात, आवास, खानेपानी, सरसफाई, अतिथि स्वागत तथा कार्यक्रम सञ्चालनसम्बन्धी पक्षहरूबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई प्रभावकारी कार्यान्वयनको निर्देशन समेत दिए ।
संस्कृत व्याकरणका पिता पाणिनीको तपोभूमिको पहिचान, त्यस क्षेत्रको धार्मिक, साँस्कृतिक, पर्यटकीय विकास र व्यापकता सम्मेलनको उद्देश्य रहेको छ । स्थानीय तह, प्रदेश सरकार तथा पर्यटनसँग सम्बन्धित निकायहरूको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।
सम्मेलनले पाणिनी क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका सदस्य राजेश महोत्राले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij