२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दिलिप रायमाझी नेपाल आउने

शनिवार , चैत्र २२, २०८१

बुटवल, २३ चैत । अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लि.ले जानकारी दिएको छ। 

पारिवारिक कामका लागि रायमाझी केही समयअघि अमेरिका पुगेका थिए । उनी अमेरिका गएको १ महिनामै नेपाल फर्किन लागेका हुन् । रायमाझी नेपाल फर्किनासाथ केही मिडियामा अन्र्तवार्ता, भेटघाट र दर्शक भेटघाटमा व्यस्त हुने निर्माण कम्पनीले जनाएको छ । ‘हेल्लो काँशीराम आगामी जेठ २ गतेबाट देशभरका हलमा एकसाथ सार्वजनिक हुँदैछ ।

‘हेल्लो काँशीराम’ केही दिन अघि मात्रै सेन्सर पास भएको थियो । यस चलचित्रलाई केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट दिइएको छ । अब दर्शकले ‘हेल्लो काँशीराम’ सजिलै हेर्न पाउनेछन् । त्यस्तै केही समय अघि चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । उक्त पोस्टरमा दिलिप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ । निर्माता, निर्देशक तथा अन्य कलाकारहरु भने प्रमोशनमा जुटिरहेका छन् ।

रेडलाइन फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । विश्वकर्मा निकै पुराना निर्देशक हुन् । यस फिल्मलाई पी.बी. थापाले लगानी गरेका हुन् । यम आलेले खिचेको फिल्मको लगानी डेढ करोड पुगेको बुझिएको छ । फिल्मलाई मित्र डी. गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।

फिल्ममा दिलिप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिनेछन् । त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ । यस फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भूमिका रहेको निर्माण टीमले जनाएको छ । कार्की नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने विश्वकर्माको भनाइ छ ।

चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन् । चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागीताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनेको निर्माण पक्षको भनाइ छ । निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर, सम्झिराख है, रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन् ।

फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टीमको तयारी छ ।