
सोमवार , चैत्र २४, २०८१
भैरहवा, २५ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित मुन लाईट आवासीय माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा आईएसओ प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले अहिलेको युग शिक्षाको युग भएको र शिक्षा सबैभन्दा ठूलो हतियार भएको बताए । शिक्षालाई हतियार बनाएर संसार जित्न सकिने उनको भनाइ छ । उनले विद्यालयको शिक्षकशिक्षिका, विद्यार्थी, अभिभावक र सञ्चालक समितिको महत्वपूर्ण भूमिका र योगदानका कारण मुन लाईटले आईएसओ प्रमाण–पत्र प्राप्त गर्न सफल भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कूल प्रसाद न्यौपानेले मुन लाईटले आईएसओ प्रमाण–पत्र पाएसँगै विद्यालयको जिम्मेवारी थपिएको बताए ।
विद्यालयका प्राचार्य राजेश राज जोशीले विश्वास गरेर मुन लाईट रोज्ने अभिभावक र विद्यार्थीहरुको विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरे । ‘जसरी तपाईहरुले विश्वास गरेर आफ्नोे बालबालिकालाई मुन लाईटमा पठाउनुभएको छ, त्यसरी नै हामीले तपाईहरुको विश्वास टुट्न दिदैनौं,’उनले भने ।
कार्यक्रममा विद्यालयलाई आईएसओ ९००१ :२०१५ को चिन्ह तथा प्रमाण-पत्र प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रमाणीकरण संस्थाको दक्षिण एसिया हेर्ने संस्था ग्लोबल क्वीलिटी काउन्सीलले मुन लाईटलाई प्रमाणपत्र प्रदान गरेको हो ।
विद्यालयका प्लस टु संयोजक टीकाराम भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुती, गायन, तेक्वान्दो र नाटक प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij