
सोमवार , चैत्र २४, २०८१
भैरहवा, २५ चैत । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ स्थित असुरैना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति छनौट प्रक्रिया स्थगित भएको छ । शनिबार अभिभावक भेलासहित विद्यालय व्यवस्थापन समिति छनौट प्रक्रिया हुने तालिका सार्वजनिक गरिए पनि सहमति नजुटदा प्रक्रिया स्थगित भएको हो ।
विद्यालयले प्रकाशन गरेको तालिका अनुसार समिति छनौट प्रक्रिया अगाडी बढाउँदा निवर्तमान अध्यक्ष जैस मोहम्मद खान पक्षले अभिभावक नामावली फर्जी रहेको बताउँदै विरोध गरेका थिए । खानले अभिभावक नामावली फर्जी रहेको बताउँदै व्यवस्थापन समिति छनौट प्रक्रिया रोक्नुपर्ने माग गरे ।
उनले भने, ‘जसको छोराछोरी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् उनीहरुको अभिभावकको नाम अभिभावक नामावलीमा समावेश छ । करिब १ सय जना नक्कली अभिभावकको नाम समावेश गरिएको छ, निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको अभिभावक सामूदायिक विद्यालयको अभिभावक कसरी बन्न सक्छन् ? वार्षिक परीक्षा दिएका विद्यार्थीहरुको नामअनुसारको अभिभावक नामावली प्रकाशन गरी मात्र छनौट प्रक्रियामा जानुपर्ने अन्यथा आफूहरुको असहमति रहेको उनले बताए । विद्यालयलाई राजनीतिको स्थल बनाउन फर्जी नामावली समावेश गरिएको उनले आरोप लगाए ।
त्यस्तै सम्मरीमाई–६ स्थित असुरैनाका मोहम्मद असलम खाँले छोरा डोटी जिल्लामा अध्ययन गरिरहेको तर, आफ्नो नाम अभिभावक नामावलीमा समावेश गरिएको बताए । उनले भने, ‘यसले प्रष्ट हुन्छ कि अभिभावक नामावलीमा त्रुटी छ । छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनुपर्छ ।’
शिक्षा अधिकृत माधवराज पौडेलले सहमति नजुट्दा छनौट प्रक्रिया अगाडी बढ्न नसकेको बताए । उनले भने, ‘अभिभावकको नामावलीलाई लिए उत्पन्न भएको विवाद नमिल्दा र झन विवाद बढिरहदा सबै प्रक्रिया रोकेर तत्कालका लागि स्थगित गरेका हौं । विद्यालय व्यवस्थापन समिति छनौटका लागि इमिसमा रहेको अभिभावक नामावलीलाई नै आधिकारिक मान्नु पर्ने प्रावधान छ ।’ अभिभावकको नामावली विवाद अन्त्य गर्न अब नयाँ भर्नापछि मात्र विकल्प देखिएको शिक्षा अधिकृत पौडेलले बताए ।
विद्यालय ब्यवस्थापन समिति नहुँदा विद्यालयमा आएको शिक्षक भर्ना, विद्यालयको गेट सहित भौतिक संरचना निर्माण प्रभावित हुने सम्मरीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौडले बताए । व्यवस्थापन समिति छनौट प्रक्रियामा ढिलाइ भने पनि नियम कानून मिचेर छनौट प्रक्रिया नबढाउन उनले आग्रह गरे । उनले भने, ‘भर्ना हँुदाबखतको अभिभावक नामावली इमिट टाडामा समावेश गरिन्छ र इमिस अभिलेखको आधारमै व्यवस्थापन समिति छनौट गरिन्छ । कसैको आदेशमा थपघट गर्न मिल्ने व्यवस्था छैन ।’
सम्पूर्ण कार्यक्रमहरु स्थगितपछि विद्यालय व्यवस्थापन छनौट प्रक्रियामा सहभागी हुन आएका अभिभावकहरु घर फर्केका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij