२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिंचाइ दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्नेहरू सम्मानित

सोमवार , चैत्र २४, २०८१

दाङ, २५ चैत । सिंचाइ दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले कार्यसम्पादनको आधारमा जल उपभोक्ता समूह, कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई सम्मान गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्य र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले सम्मान प्रदान गरेका हुन् । मन्त्रालयले उत्कृष्ट जल उपभोक्ता समूह, कार्यालय प्रमुख, कर्मचारी र निर्माण व्यवसायीको मूल्यांकन गरी सम्मान गरेको हो ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, रोल्पाका वरिष्ठ इञ्जिनियर प्रविण कुमार उत्कृष्ट कार्यालय प्रमुखका रूपमा सम्मानित भएका छन् । त्यस्तै भूमिगत जलस्रोत तथा सिंचाइ डिभिजन विकास कार्यालय बाँकेमा कार्यरत वरिष्ठ हाइड्रोजियोलोजिष्ट मधु न्यौपाने र रूपन्देहीका मेकानिकल अधिकृत नारायण प्रसाद पन्थी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, अर्घाखाँचीका प्राविधिक अधिकृत वीर बहादुर विसी, उर्जा मन्त्रालयका कार्यालय सहयोगी गुणानिधि पन्थीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । 

त्यसै गरी जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दाङ अन्तर्गत झुमरे कट्कुइयाँ कुलो सिंचाइ योजना तुलसीपुर ८ र ९ लाई उत्कृष्ट उपभोक्ता संस्था र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलको सिफारिसमा नवलपरासीस्थित ज्योति कन्स्ट्रक्सनलाई उत्कृष्ट निर्माण व्यवसायीका रूपमा सम्मानित गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि र समावेशी विकासमा यस्ता संस्थागत तथा व्यक्तिगत योगदानहरू प्रेरणादायी रहेको उल्लेख गरे ।