
मंगलवार , चैत्र २५, २०८१
बुटवल, २६ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा यही चैत २९, ३० र ३१ गते हुने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८ औं संघीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुने महाधिवेशनबारे सोमबार रुपन्देहीको बुटवलमा पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराइएको छ ।
महाधिवेशनले लुम्बिनी र लुम्बिनीसँग जोडिएका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा नयाँ तरंग ल्याउने र आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणलाई अझ विश्वसनीय बनाउने फोनिजले जनाएको छ ।
फोनिजका संघीय महासचिव समीर बलामीले देशका ६६ वटा जिल्ला र ८ वटा विशेष क्षेत्रबाट गरी करिब ५ सय भन्दा बढी संघीय प्रतिनिधि र पर्यवेक्षकहरु महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।
महाधिवेशनमा देशका ६६ जिल्ला समितिहरू, सातवटा प्रदेश समितिहरू, एशोसिएट समिति, प्रतिष्ठान तथा प्रवास शाखा र जातीय संस्थाहरू र फोनिजमा आबद्ध ८ जातीय पत्रकार संघहरूमार्फत समेत प्रतिनिधि चयन गरिएको महासचिव बलामीले जानकारी दिए ।
फोनिजमा नेवा पत्रकार राष्ट्रिय दबु, तमु गुरुङ सञ्चारकर्मी संघ, नेपाल तामाङ पत्रकार संघ, नेपाल मगर पत्रकार संघ, लिम्बु पत्रकार संघ, किराँत राई पत्रकार संघ, थारु पत्रकार संघ र शेर्पा सञ्चार समूह रहेका छन् ।
देशभर करिब ५ हजार भन्दा बढी सदस्यहरू रहेको फोनिजको महाधिबवशनका लागि संघीय अध्यक्ष गजुरधन राईको संयोजकत्वमा ५७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ । महाधिवेशनको तयारीका लागि संघीयस्तरमा ९ वटा उपसमिति तथा स्थानीयस्तरमा पाँच उपसमिति गठन गरी महाधिवेशन व्यवस्थापनको अन्तिम चरणमा पु¥याइएको महासचिव बलामीले पत्रकार भेटघाटमा जानकारी दिए ।
‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने नाराका साथ सम्पन्न हुने महाधिवेशनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ्गले गर्नेछन् ।
त्यस्तै बन्द सत्रको शुभारम्भमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले फोनिजकर्मीहरुलाई लुम्बिनी प्रदेश विशेष सम्बोधन गर्नुहुने फोनिजका संघीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज मिलन गाहाले जानकारी दिए । महाधिवेशनमा फोनिजको सांगठनिक जीवनको समीक्षा गर्दै आगामी तीन वर्षको लागि रणनीति, कार्यक्रम र नीतिगत मार्गचित्र तय गरिने उनले बताए । महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, ६ सचिव, एक कोषाध्यक्ष र एक सह–कोषाध्यक्षसहित ४७ जना सदस्यीय चयन गरिने उनले बताए ।
महाधिवेशनका लागि अनुमानित खर्च करिब ४० लाख रुपैयाँ हुने र सहभागी प्रतिनिधि तथा पर्यवेक्षक र आमन्त्रित अतिथिहरूको खाना तथा आवास व्यवस्थापनको सम्पूर्ण तयारी गरिएको समेत फोनिजले जनाएको छ । महाधिवेशनका लागि चैत्र २८ गते देखि प्रतिनिधि र पर्यवेक्षकहरु लुम्बिनी आउन सुरु हुने र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थप नयाँ उचाई थप्ने समेत फोनिजले विश्वास गरेको छ ।
फोनिजका केन्द्रिय उपाध्यक्ष सरु रानाले फोनिजले आदिवासी जनजातिको हकअधिकार, पहिचान र समावेशी पत्रकारिताको पैरवी गर्दै आइरहेको र पछिल्ला वर्षहरूमा श्रमजीवी पत्रकारहरूको हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, मिडिया हाउसहरूमा समावेशीता लागू गराउने विषयमा समेत अभियान सञ्चालन गर्दै आइरहेको बताइन् । उनले मोफसलका सम्पूर्ण पत्रकार सम्बद्ध संघ–संस्था र सञ्चार माध्यमहरुको सहयोगमा महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास फोनिजले लिएको समेत उपाध्यक्ष रानाले बताए ।
महाधिवेशनले नेपाली पत्रकारितामा समावेशीता, विविधता र प्रतिनिधित्वको अभ्यासलाई अझै सशक्त बनाउने र फोनिजकर्मीहरुमा थप नयाँ उर्जा र उत्साह थप्ने विश्वास फोनिजले लिएको छ । फोनिजको यस कदमलाई आदिवासी जनजातिका सञ्चारकर्मीहरूले आफ्ना आवाज बुलन्द गराउने अवसरका रूपमा लिएको जनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij