२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारले शिक्षकहरुलाई काममा फर्कने वातावरण निर्माण गर्नुपर्छ : मेयर खाँ

मंगलवार , चैत्र २५, २०८१

भैरहवा, २६ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आन्दोलनरत शिक्षक महासंघका जायज मागहरु तत्काल सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । लामो समयदेखि शिक्षकहरु आन्दोलित हुँदा नतिजा प्रकाशन तथा नयाँ शैक्षिक सत्रको भर्ना अभियानलाई समेत असर परेको उल्लेख गरे । उनले जायज र विगतमा भएका सम्झौताहरुको कार्यान्वयन गरी शिक्षकहरुलाई काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका हुन । 

मगंलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संविधान सभा सदस्य समेत रहेका मेयर खाँले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूका मागहरू समावेश नभएको, शिक्षकहरूको स्थायीत्व, सेवा सुविधा, सरुवा–बढुवा जस्ता विषयमा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र ती सहमति बारम्बार उल्लंघन भएको ठहर गरी नेपाल शिक्षक महासंघले २०८१ चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएकोले यसबाट सिद्धार्थनगर नगरपालिकाभित्रका विद्यालयहरूको शैक्षिक सत्र २०८१ नतिजा प्रकाशन, शैक्षिक सत्र २०८२ को भर्ना अभियान लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएको समेत जनाएका छन् ।

‘यस्तो अवस्थामा नेपाल सरकारलाई शिक्षक महासंघका विगतमा भएका सम्झौता अनुरुप जायज मागहरूलाई गम्भीरतापूर्वक विचार गरी शिघ्र प्रक्रियाद्वारा विद्यालय शिक्षा ऐन जारी गरी समस्या समाधान गर्न अनुरोध गर्दछु, उनले विज्ञप्तिमा भनेका छन्–‘शिक्षा क्षेत्रको स्थायीत्व र प्रगतिको लागि शिक्षकहरुको आत्मसम्मान कायम राख्दै आफ्नो कर्मथलो फर्कने उचित वातावरण निर्माणका लागि नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु ।’

उनले वार्ता र सम्वादका माध्यमवाट समस्याको समाधान निकाल्न दुवै पक्षलाई आग्रह समेत गरेका छन् ।