
बिहिवार , चैत्र २७, २०८१
भैरहवा, २८ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा रहेको पञ्चकन्या समूहले आफ्नो उद्योग परिसरमा निःशुल्क रुपमा क्यान्सर रोगको परीक्षण गरेको छ । रुपन्देहीको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान पञ्चकन्या समूहले सामाजिक उत्तरदायित्व अन्तरगत क्यान्सर शिविर सञ्चालन गरेको हो ।
उद्योगमा कार्यरत कर्मचारी, स्थानीय नागरिक र रुपन्देही जिल्लाबासीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा झण्डै ५ सय जनाले स्वास्थ्य लाभ लिएको पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । पञ्चकन्याको आयोजना तथा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. र सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको सहकार्यमा शिविर आयोजना गरिएको हो । शिविरमा भक्तपुर क्यान्सर हस्पिटलले प्राविधिक सहयोग गरेको थियो ।
शिविरमा भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक डा.उज्वल चालिसेको नेतृत्वमा १९ जनाको टीमले क्यान्सर रोगको परीक्षण गरेको थियो । शिविरमा सिटी हस्पिटलका चिकित्सकसहित ६ जनाको टीम पनि खटिएको थियो ।
पञ्चकन्या समूहका महाप्रबन्धक साहूका अनुसार शिविरमा निःशुल्क प्याप स्मेयर परीक्षण, स्तन क्यान्सर स्क्रिनिङ र अन्य क्यान्सर सम्बन्धी जाँच गरिएको थियो । त्यस्तै सहभागीलाई क्यान्सर सचेतना अभिवृद्धि समेत गरिएको थियो । शिविरमा ४७७ जना लाभान्वित भएका छन् । यीमध्ये महिला ४३३ जना र पुरुष ४४ जना छन् ।
महाप्रबन्धक साहुका अनुसार शिविरमा आएकामध्ये एकजनामा क्यान्सर देखिएको छ । ती बिरामीलाई तत्काल उपचार गर्न सुझाव दिइएको छ भने आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ । त्यस्तै परीक्षण गराएका १९ जनामा क्यान्सरको लक्षण भेटिएको छ । ती १९ जनाको ल्याब परीक्षण रिपोर्ट आएपछि क्यान्सर हो–होइन एकीन हुने उनले बताए । साहुले शिविरमा सहभागीमध्ये ९५ प्रतिशतलाई निःशुल्क औषधि वितरण गरिएको जानकारी दिए ।
गरीब तथा विपन्न र आम नागरिकको स्वास्थ्यलाई लक्षित गरेर शिविर आयोजना गरिएको महाप्रबन्धक साहुले जनाए । रोग लाग्नै नदिने र लागिहालेमा त्यसको निदानका लागि सहयोग गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मानिसको स्वास्थ्य धनसम्पत्तिसँग तुलना हुन नसक्ने बताए । उनले उद्योगले विभिन्न अस्पतालहरुसँग सहकार्य गरेर निःशुल्क शिविर आयोजना गरी यस क्षेत्रका बासिन्दालाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन भूमिका खेलेको भन्दै प्रशंसा गरे । पञ्चकन्याले नाफा भन्दा समाजसेवालाई प्राथमिकता दिने गरेको भन्दै यसबाट धेरै स्थानीयहरु लाभान्वित भएको जनाए ।
श्रम कार्यालय, बुटवलका निमित्त प्रमुख ऋषिराम पन्थीले पञ्चकन्या समूहले नागरिकमा समर्पित भएर काम गर्ने गरेको बताए । ‘हामीले थाहा पाएअनुसार धेरैजसो औद्योगिक प्रतिष्ठान नाफा कमाउन व्यस्त हुन्छन्, पञ्चकन्याले उद्योग सञ्चालनसँगै नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै प्रत्यक वर्ष यस्ता सामाजिक कार्य गर्दै आएको छ, तपाईं हामी सबैले सहयोग गर्नुपर्छ’, उनले भने । उनले रुपन्देहीमा व्यवस्थित रुपमा सञ्चालन भएका उद्योगहरुमध्ये पञ्चकन्या एक नम्बरमा पर्ने बताए । पञ्चकन्याले नाफा मात्रै होइन्, स्वास्थ्य, शिक्षा, रोजगारी, वातावरण लगायतका क्षेत्रमा गौरव गर्न लायक काम गरेको उनको भनाइ छ ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले पछिल्लो समय क्यान्सर रोगी बढिरहेको जनाउँदै यसलाई रोकथाम र समयमै उपचारमा सहज होस् भनेर बेलाबेला यस्ता शिविर गर्दै आएको बताए । आफूहरुले यस क्षेत्र र आसपासका नागरिकलाई उपचार तथा परीक्षणमा सहजता होस् भनेर सुमित्रा मेमोरियल क्यान्सर अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको उनले जनाए ।
सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले पछिल्लो समय क्यान्सर रोगी बढिरहेको जनाउँदै यसलाई रोकथाम र समयमै उपचारमा सहज होस् भनेर बेलाबेला यस्ता शिविर गर्दै आएको बताए । आफूहरुले यस क्षेत्र र आसपासका नागरिकलाई उपचार तथा परीक्षणमा सहजता होस् भनेर सुमित्रा मेमोरियल क्यान्सर अस्पताल संचालनको अन्तिम तयारीमा रहेको उनले जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij