
शुक्रवार , चैत्र २८, २०८१
भैरहवा, २९ चैत । विभिन्न पाँच बुँदे माग राख्दै एक पूर्वशिक्षकले ४ सय किलोमिटर पदयात्रा गरेका छन् । सर्लाहीका नित्यानन्द शर्मा (कंडेल) ले उत्तर–दक्षिण पदयात्रा गेका हुन् । सिन्धुपाल्चोकको तातोपानी नाकादेखि रुपन्देहीको बेलहिया नाकासम्म पदयात्रा गरेको उनले जानकारी दिए । शुक्रबार २३ औं दिनका दिन उनी सीमा नाका बेलहियामा आइपुगेका हुन् । यो क्रममा ४ सय किलोमिटर पदयात्रा गरेको उनले बताए ।
७० वर्षीय शर्मा सर्लाहीको बागमती नगरपालिका–११, पुतलीचोकका बासिन्दा हुन् । पूर्वी नवलपरासीमा जन्मिएका उनी विभिन्न विद्यालयलमा तीन दशक शिक्षण पेशामा आबद्ध भएका थिए । प्राथमिक तहबाट शिक्षण पेशा सुरु गरेका उनले ३० वर्षे सेवा अवधिका कारण २०६९ मा माध्यमिक विद्यालय तहबाट अवकास पाए । नेपाली र सामाजिक विषयका पूर्व शिक्षक उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै अघिल्लो वर्षदेखि पदयात्रा थालेका हुन् ।
उनले गत वर्ष मेची–महाकाली पदयात्रा गरेका थिए । ‘५३ दिनमा उक्त पदयात्रा गरेको थिएँ’, उनले भने, ‘मुलुक समृद्ध होला, नेतृत्व तहमा बस्ने सुध्रिएलान भनेको अझै सुध्रिएनन्, त्यसैले यसपटक उत्तर–दक्षिण पदयात्रा गरेँ । उनले कर्मठ, राष्ट्रवादी नेपाली नागरिकहरुकोतर्फबाट नेपाल सरकारसमक्ष प्रस्तुत माग विवरण भनेर लेखिएको पाँचबुँदे मागपत्रसहितको प्लेकार्ड घाँटीमा झुण्ड्याएर, हातमा राष्ट्रिय झण्डा र कम्मरमा खुर्पेटो भिरेर पदयात्रा गरेका थिए । चैत्र ६ गते सुरु पदयात्रा बेलहिया नाकामा आएसँगै टुंगिएको उनले जानकारी दिए ।
शर्माले नेपालको संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, नेपालको सुस्ता, लिपुलेक, लिम्पियाधुरा, कालापनी लगायतका स्थानमा अतिक्रमित भूमि आधिकारिक रुपमा स्वदेशको स्वामीत्वमा ल्याउनुपर्ने, राष्ट्रको सर्वोच्च पदमा आशिन राजनीतिक पदाधिकारीहरुले राज्यकोषको दुरुपयोग गरी विदेशमा उपचार गर्ने प्रवृति तथा पदमुक्त भए पश्चात् राज्यकोषबाट हुने भरणपोषण सम्पूर्ण सेवासुविधाहरु खारेज गरिनुपर्ने, देशमा व्याप्त भ्रष्टाचार एवं राष्ट्रघाती कदमहरुको निष्पक्ष रुपमा अनुसन्धान गरी कसुरको आधारमा कठोर सजायको व्यवस्था गर्नुपर्ने र भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गरी राज्यकोषमा दाखिला गर्नुपर्ने, नेपालका रुग्ण अवस्थाका उद्योगहरुलाई पुनःस्थापित गरी कृषि र वनस्पतिमा आधारित औषधि उद्योग साथै सुती कपडा र पशुजन्य ऊनी कपडा उद्योगहरुको स्थापना गर्नुपर्ने माग राखेका छन् ।
यात्राका क्रममा नागरिकस्तरबाट ठाउँठाउँमा आफूलाई सहयोग भएको उनले सुनाए । तर, यात्रामा कठिनाई भने भएको उनले जनाए । घामपानी, धुलो, धुँवा केही नभनी मुलुक सुधारका लागि आफूले पदयात्रा गरेको सुनाए । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आफैमा राम्रो र उच्चतम व्यवस्था भए पनि व्यवहारिक आचरण, कार्यान्वयन भने सही नभएको उनको भनाइ छ । ‘नेतृत्वकै कारण लोकतन्त्रमा आँच आयो, यसैले मुलुक उन्नतिको मार्गमा अघि बढ्न सकेन’, उनले भने, ‘यसलाई सुधार गर्नुपर्छ नेतृत्व सुध्रिएर मुलुकको उन्नति–प्रगति गर्न जरुरी छ ।’ पदयात्रा समापन पछि शर्मा शुक्रबार बस चढेर सर्लाही घरतर्फ फर्किएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij