२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘सिद्धार्थनगर नगरपालिकाका काम सन्तोषजनक र सुधारात्मक’

आइतवार , चैत्र ३०, २०८१

भैरहवा, ३१ चैत । सरोकारवालाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका कामहरु सन्तोषजनक र सुधारात्मक रहेको औल्याएका छन् । उनीहरुले सफल कार्यसम्पादनमा मुलुकमै उत्कृष्ट हुँदा यसले सबैलाई गौरवान्वित बनाएको समेत बताएका छन् । सरोकारवालाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सहरी विकास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हासिल गर्न लागिपर्नुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाले आइतबार भैरहवामा आयोजना गरेको सफल कार्यसम्पादन देशकै उत्कृष्ट नगर पुरस्कार प्राप्त तथा नवबर्ष २०८२ को शुभ अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले नगरपालिका पुरस्कृत हुँदा सबै नगरबासी खुशी भएको बताए । ‘यहाँहरुले यो उत्कृष्टतालाई निरन्तरता दिनुपर्छ । सबै एकजुट भएर काम गर्नुहोला पक्कै पनि अन्य क्षेत्रमा पनि सफलता मिल्छ’, उनले भने । उनले सिद्धार्थनगरमा पछिल्ला वर्षहरुमा विकासको कामले गति लिएको जनाए ।

नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले नगर उत्कृष्ट बन्नुमा आम नगरबासी, कर्मचारी र जनप्रतिनिधि सबैको योगदान रहेको बताए । उनले नगरपालिकाको हरेक क्षेत्रलाई उत्कृष्टता प्रदान गर्ने गरी काम गरिरहेको जनाए । ‘शिक्षा, स्वास्थ्य, सहरी विकास, वातावरण, हरियाली लगायतका क्षेत्रमा हामीले निरन्तर काम गरिरहेका छौं’, उनले भने, ‘सबै काममा हामीले नगरबासीसँग सहकार्य गरेर गर्नेछौं ।’

पछिल्लो समय सिद्धार्थनगरमा विकास निर्माणले तीव्रता पाएको उनले जनाए । नगरपालिकाको आन्तरिक आम्दानी तुलनात्मक रुपमा कम भइ आफ्नो सीमित स्रोतसाधनका बाबजुद पनि नगरपालिकाले एसियाली विकास बैंक (एडीबी), संघीय र प्रदेश सरकाको सहयोगमा विकासलाई अगाडि बढाएको मेयर खाँले बताए । ‘यो वर्ष पनि एडीबीको सहयोगमा सडक, ढल, नाला तथा नगर सुन्दरीकरणका लागि काम हुँदैछ । यसको लागि ठेक्का भइसकेको छ । छिट्टै नै निर्माण कम्पनीले काम सुरु गर्नेछ’, उनले भने, ‘पछिल्ला वर्षहरुमा नगरपालिकालाई हामीले अधिकतम प्रविधिमैत्री बनाउने प्रयास गरेका छौं ।’

राजस्व भुक्तानी अनलाइनमार्फत गराइएको, नगरका मुख्य चोकहरुमा फ्रि वाईफाई जडान गरिएको, सुरक्षा एवं दुर्घटना न्यूनीकरणका लागि अटोमेटिक नम्बर प्लेट रेकर्डर सिस्टम तथा नगरका विभिन्न भागहरुमा सिसिटीभी क्यामरा जडान गरिएको उनले बताए । उज्यालो सहर बनाउने उद्देश्य अनुसार स्मार्ट लाइट तथा सडक बत्ती जडानलाई निरन्तरता दिइएको उनले जनाए । 

‘नगरको सुन्दरीकरणका लागि नियमित सरसफाई पुष्प, वृक्षरोपण गरिएको छ । फोहोरमैला व्यवस्थापन गर्ने सवारीसाधनहरुको अनलाइनकरण गरिएको छ । यसबाट फोहोरका गाडी कहाँ छन् र आफ्नो घरआँगनमा कतिबेला आइपुग्छ भनेर सजिलैसँग नगरबासीले पत्ता लगाउने गरी मोबाइल एप निर्माण गरिएको छ’, उनले भने ।

विद्यालयमा डिजिटल कक्षा निर्माण गरिएको र विपद् व्यवस्थापनतर्फ खानेपानीका पाइपहरु भएका स्थानमा आवश्यकता अनुसार फायर हाइड्रहरु जडान गरिएको उनले जानकारी दिए । बेलहियामा रहेको अन्तर्राष्ट्रिय नाका प्रवेशद्वारमा गेट निर्माणको काम अन्तिम चरणमा पुगेको मेयर खाँले बताए । ‘नगरपालिकाले यसको अलवा शिक्षा, स्वास्थ्य, शहकारी, कृषि लगायत सामाजिक विकास र आर्थिक चलायमान हुने, आत्मनिर्भर हुने खालका लक्षित वर्गमा आयआर्जनमूलक कार्यक्रम गरेको छ’, उनले भने । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नगरपालिकाले सबै किसिमका प्रयास गरिरहने जनाए ।

नगर उपप्रमुख  उमा अधिकारीले सबैको साझा प्रयासबाट नगरपालिका उत्कृष्ट भएको जनाइन् । उनले पछिल्लो समय नकारात्मकता बढिरहेको जनाउँदै यसलाई रोकेर सकारात्मकतामा ध्यान दिनुपर्ने जनाइन् । ‘हाम्रो सोचमा हामीले परिवर्तन गर्न सकेनौं भन्ने विकासका काम अघि बढाउन सक्दैनौं, ’उनले भनिन् । नगरपालिकाले हरेक क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको उनको भनाइ छ ।

 कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्साल, नेपाली काँग्रेस सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धार्थनगर अध्यक्ष पर्शुराम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कूल प्रसाद न्यौैपाने, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही अध्यक्ष नेत्र प्रसाद आचार्य, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, उद्योग व्यापार संगठन, रुपन्देही अध्यक्ष दर्पण श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नगरपालिकाका प्रशासन महाशाखा प्रमुख देव प्रसाद ज्ञवाली लगायतले बोल्दै नगरपालिका उत्कृष्ट हुँदा सबैलाई हौसला, खुशी र गौरव मिलेको बताए । उनीहरुले गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा पहल गर्नुपर्ने, नगरमा समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । 

त्यस्तै शिक्षा, स्वास्थ्य, सामाजिक विकासमा पनि उत्कृष्टता हासिल गर्नतर्फ लाग्नुपर्नेमा उनीहरुले जोड दिए । सुशासनलाई कायम राख्दै उत्कृष्टतालाई निरन्तरता दिनुपर्ने उनीहरुको सुझाव थियो ।

DSCN1639.JPG

केही समयअघि सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरुमध्येबाट उत्कृष्ट बनेको थियो ।