२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न मुख्यमन्त्री आचार्यको अपील

मंगलवार , बैशाख २, २०८२

दाङ, २ वैशाख । लुम्बिनी प्रदेशमा शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियान जारी छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागीता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान जारी रहेको हो । 

यसै सन्दर्भमा मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न स्पष्ट निर्देशन दिएका छन् । उनले शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा लागू छ । अघिल्लो बर्षको शैक्षिक तथ्यांक अनुसार प्रारम्भिक बाल विकास शिक्षामा कुल भर्ना दर ९९.९ प्रतिशत रहेको छ भने प्रारम्भिक बाल विकास शिक्षामा खुद भर्ना दर ७०.६ प्रतिशत रहेको छ । कक्षा १ मा खुद प्रवेश दर ९५.७ प्रतिशत छ । आधारभूत तह (कक्षा १–८) मा खुद भर्ना दर ९५.२ प्रतिशत तथा माध्यमिक तह (९–१०) मा खुद भर्ना दर ७६.५ रहेको छ । माध्यमिक तह (११–१२) मा खुद भर्ना दर ३७.१ प्रतिशत रहेको छ । यस्तै माध्यमिक तह (९–१२) मा खुद भर्नादर ५७.९ रहेको थियो ।

मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने गरी अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताएका छन् ।