२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

रुपन्देहीमा चैत महिनामा ८९ जना फरार प्रतिवादी पक्राउ

बुधवार , बैशाख ३, २०८२

भैरहवा, ३ वैशाख । रुपन्देहीमा एक महिनामा ८९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना सजायको फैसला भइ फरार रहेका ८९ प्रतिवादीहरुलाई रुपन्देही प्रहरीले २०८१ साल चैतमा पक्राउ गरेको हो । ८९ प्रतिवादीहरुलाई पक्राउ गर्दा उनीहरुबाट ४५ वर्ष १ महिना १३ दिन कैद र ४४ लाख २२ हजार ४ सय १४ रुपैयाँ जरिवाना असुलउपर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार आयोजना गरेको मासिक पत्रकार भेटघाट कार्यक्रममा डीएसपी कार्कीले फैसलापछिको आधारमा चैतमा २० वर्षपछि २७, १५ वर्षपछि ११, १० वर्षपछि २१, ५ वर्षपछि १५ र ५ वर्षभन्दा कम १५ जना पक्राउ गरिएको बताए ।

त्यस्तै एक महिनामा रुपन्देही प्रहरीले ५९ लाख ५१ हजार ३ सय ६१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानहरुबाट भन्सार छली चोरी निकासी गरी भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरिएको सामान पक्राउ गरेको डीएसपी कार्कीले जानकारी दिए ।

त्यसै गरी अवैध रुपमा माटो तथा बालुवा उत्खनन् गरिरहेको अवस्थामा सवारीसाधन नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएकोमा ७ लाख ८ हजार १ सय ३६ रुपैयाँ जरिवाना भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सवारीसाधनमा ट्याक्टर ९ वटा, जेसीबी ४ वटा र टिप्पर, हाईवा ७ वटा रहेका छन् ।

त्यस्तै चैतमा जिल्लामा लागूऔषधसहित ३३ जना पक्राउ परेका छन् । चैतमा हराएका मोबाइलसम्बन्धि ५१ वटा निवेदन परेकोमा १५ वटा फेला पारी सम्बन्धित मोबाइलधनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यसै अवधिमा जिल्लामा १४८ वटा विभिन्न मुद्दाहरु दर्ता भएको र ५३ वटा फछर्यौट भएको छ । ती मुद्दामा ९९ जनालाई पक्राउ गरिएकोमा ४६ जना फरार रहेको प्रहरीले जनाएको छ । चैत महिनामा घरेलु हिंसाको ५४ वटा उजुरी दर्ता भएकोमा ३७ जनालाई सहमति गरी पठाइएको छ भने १७ वटा बाँकी छ ।

त्यस्तै एक महिनामा रुपन्देहीमा १६ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार झुण्डेर १२ र विष सेवन गरी ४ जनाले आमहत्या गरेका हुन् । जसमध्ये बढी १९ देखि ३५ वर्षको उमेर समूहका छन ।  
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतका गरी संयुक्त रुपमा गरिएको चेकिङमा ३ हजार ८ सय ३६ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । कारवाही गरिएका सवारीसाधनबाट ४३ लाख ३६ हजार राजस्व संकलन भएको डीएसपी कार्कीले जानकारी दिए ।

रुपन्देही प्रहरीका अनुसार चैतमा रुपन्देहीमा ९ वटा आगलागीका घटना भएको र घटनाबाट ३३ लाख ४४ हजार ५ सय बराबरको क्षति भएको छ ।

IMG_2691.JPG