
बुधवार , बैशाख ३, २०८२
बुटवल, ३ वैशाख । सवारी दुर्घटनापछिको ठूलो सम्भावित आर्थिक क्षतिबाट चालक तथा मजदूरहरुलाई बचाउन यातायात मजदूर तथा व्यवसायी भलाई कोषले महत्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरुले बताएका छन् ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ५१ औं स्थापना दिवस तथा ४६ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै उनीहरुले सम्भावित ठूलो आर्थिक नोक्सानीबाट सर्वसाधारणलाई मारमा नपार्न भलाई कोषले ठूलो योगदान पुर्याएको बताएका हुन् ।
कार्यक्रमको उदघाटन गर्दै कोषका पूर्वअध्यक्ष तथा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले सवारी दुर्घटना र यसको कारण मजदूरहरुलाई पर्ने कानूनी र अन्य समस्याहरुलाई समाधान हुने गरी अग्रजहरुबाट यो स्थापना भएको बताए । उनले मजदूरबाट चलाएको संस्था आफ्नो कार्यकालमा व्यवसायीहरुलाई समेत समेट्ने गरी विधान संशोधन गरिएको स्मरण गरे । संस्थाको सदस्यता र नामाकरण समयसपेक्ष परिवर्तन हँुदै आएको इतिहास कोट्याउँदै उनले भविष्यमा संस्थालाई चलायमान बनाउन परिवर्तन हँुदै उत्कृष्ट संस्थाका रुपमा चिनिने गरी अघि बढ्ने बताए ।
उनले सवारीको सिण्डिकेट र आलोपालोको विषयमा सरकार र यातायात व्यवसायीहरु सही ढंगबाट आम नागरिकलाई बुझाउनबाट चुकेको बताए । संस्था आफ्नो स्वाभिमान र हैसियत अनुसार अघि बढेको थापाले बताए । देशमा भइरहेको विकासको गति र सडक विस्तारमा भएको ढिलाइबारे उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुले दबाब दिन जरुरी रहेको बताए । भूमि आयोगको कार्यप्रगतिबारे प्रकाश पार्दै उनले देशकै ठुलो भूमिहीन र सुकुम्बासी बसोबास रहेको जिल्ला रुपन्देहीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘रुपन्देही जिल्लामा भूमिहिन र सुकुम्बासी समस्या अब अन्त्य हुन्छ, ’उनले भने ।
कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश फुल्लेलले मजदूर र ब्यवसायीहरुको हकहितमा संस्थाको महत्वपूर्ण योगदान रहेको बताए । उनका अनुसार पछिल्लो समय भलाई कोषले नेपालगंज र पोखरामा शाखा कार्यालय स्थापना गरेको छ । देशभर २८ वटा शाखा र ६८ जना कर्मचारी मार्फत कार्यसम्पादन भैरहेको पनि उनले जानकारी दिए । आव २०८१÷२०८२ मा विभिन्न प्रकृतिका जीवित २४० र निर्जीव ६५५ गरी ८९५ दुर्घटनामा सवारीसाधनलाई आर्थिक, नैतिक र भौतिक सहयोग गरेको उनले बताए ।
कार्यक्रममा नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भलाई कोष यातायात व्यवसायीहरुमाझ आफ्नो योगदानकै कारण छुट्टै पहिचान बनाउन सफल संस्था भएको बताए । मजदूरको हितमा काम गर्ने गरी स्थापना भएको संस्था विस्तारै व्यवसायीहरुलाई समेत समेटेर विधान संशोधन गरी नयाँ ढंगबाट अगाडि बढ्दा सफल भएको उनले बताए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीहरुको पीडा र समस्या समाधान सफलतापूर्वक गरेको हुँदा नै संस्थाको गरिमा समुदायमा उच्च रहेको बताए । संस्थाको नेतृत्वबाट भएको खटनपटन र जिम्मेवारीबाट कार्यसम्पादन महत्वपूर्ण रहने उनले बताए ।
पूर्वअध्यक्ष चिनबहादुर गुरुङले संस्थाको स्थापनामा संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र श्रेष्ठको योगदानबारे चर्चा गर्दै यसलाई चलायमान बनाउन निरन्तर यातायात व्यवसायी र मजदूरहरुको योगदान रहेको बताए । सीमित घेरामा रहेको संस्थाको क्षेत्र र सेवा विस्तार गरेर सेवाग्राहीहरुको मन जित्न सफल भएको उनले दावी गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, पूर्वअध्यक्ष दिल बहादुर थापा, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति अधिकारी, नेकपाका केन्द्रीय सदस्य शरद ओली, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पेट्रोलियम डिलर्श एशोसिएशनका अध्यक्ष हिमाल गैरे, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाललगायतले सवारी दुर्घटना न्यूनीकरणका लागि संस्थागत रुपमा तालिम र अभिमुखीकरणलाई जोड्न आग्रह गरे ।
कार्यक्रममा सवारीसाधनमा लामो सेवा गरी ५८ वर्ष उमेर हद पार गरेका चालक पशुपति खरेललाई आर्थिक सहयोग गरिएको छ । त्यसै गरी सवारी दुर्घटनामा मृत्यु भएका कृष्णलाल मरासिनीको परिवारलाई ५० हजार रुपैयाँबाट सम्मान गरिएको छ । साधारणसभाले अध्यक्ष दिनेश फुल्लेल, महासचिव योग गुरुङ र कोषाध्यक्ष प्रकाश कुमार नेपालको प्रतिवेदन पारित गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij