
शनिवार , बैशाख ६, २०८२
सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरुमध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थबाट यस नगरपालिकाको नामाकरण गरिएको छ । साँस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साझा संगमको रुपमा यो नगरपालिका रहेको छ ।
वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाईमैदान निर्माण भएपछि बस्ती विकासको गतिमा तीव्रता आएको पाइन्छ । वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो । वि.स. २०३३ सालदेखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा सुनौली (महाराजगंज जिल्ला, भारत)ले सीमाकंन गरिएको छ ।
पछिल्लो समय सिद्धार्थनगरमा विकास निर्माणले तीव्रता पाएको छ । नगरपालिकाको आन्तरिक आम्दानी तुलनात्मक रुपमा कम भइ आफ्नो सीमित स्रोतसाधनका बाबजुद पनि नगरपालिकाले एसियाली विकास बैंक (एडीबी), संघीय र प्रदेश सरकाको सहयोगमा विकासलाई अगाडी बढाइएको छ ।
यो वर्ष पनि एडीबीको सहयोगमा सडक, ढल, नाला तथा नगर सुन्दरीकरणका लागि काम हुँदैछ । यसको लागि ठेक्का भइसकेको छ । भने छिट्टै नै निर्माण कम्पनीले काम सुरु गर्नेछ । पछिल्ला वर्षहरुमा नगरपालिकालाई हामीले अधिकतम प्रविधिमैत्री बनाउने प्रयास गरेका छौं । राजस्व भुक्तानी अनलाईनमार्फत गराइएको छ । नगरका मुख्य चोकहरुमा फ्री वाईफाई जडान गरिएको छ । नगरको सुरक्षा एवं दुर्घटना न्यूनीकरणका लागी अटोमेटिक नम्बर प्लेट रेकर्डर सिस्टम तथा नगरका विभिन्न भागहरुमा सिसिटीभी क्यामेरा जडान गरिएको छ । उज्यालो सहर बनाउने उद्देश्य अनुसार स्मार्ट लाईट तथा सडक बत्ती जडानलाई निरन्तरता दिइएको छ ।
नगरको सुन्दरीकरणको लागि नियमित सरसफाई, पुष्प, वृक्षरोपण गरिएको छ । फोहोरमैला व्यवस्थापन गर्ने सवारीसाधनहरुको अनलाईनकरण गरिएको छ । यसबाट फोहोरका गाडी कहाँ छन् र आफनो घरआँगनमा कति बेला आइपुग्छ भनेर सजिलैसँग नगरबासीले पत्ता लगाउने गरी मोबाईल एप निर्माण गरिएको छ । नगरबासीको स्वास्थ्यतर्फ निःशुल्क स्वास्थ्य शिविर, श्री रण अम्बिका शाह आँखा अस्पतालसँगको सहकार्यमा मोतीबिन्दुको शल्यक्रिया (अपरेसन) को लागि सम्झौता गरिएको छ । निःशुल्क रगतको लागि नेपाल रेडक्रस सोसाईटीसँग सम्झौता गरिएको छ ।
ई–रिक्सा व्यवस्थापन गर्न दर्ता प्रक्रियामा ल्याइएको छ । सिद्धार्थ बसपार्कलाई शुन्य प्वाईन्टको रुपमा विकसित गरिएको छ । यसलाई थप प्रभावकारी बनाउने हाम्रो प्रयत्न जारी छ । हाल छाडा चौपाय अन्य पालिकाहरुसँग समन्वय गरेर व्यवस्थापन गरिएको छ भने स्थायी रुपमा व्यवस्थापनको लागि वडा नम्बर ११ मा आफ्नै कान्जी हाउस निर्माण गर्न लागिएको छ । विद्यालयमा डिजिटल क्लास रुपमा निर्माण गरिएको छ । विपद् व्यवस्थापनतर्फ खानेपानीका पाईपहरु भएका स्थानमा आवश्यकता अनुसार फायर हाईड्रहरु जडान गरिएको छ । यसलाई चालु आर्थिक वर्षमा समेत निरन्तरताका लागि बजेट बिनियोजन भइ कार्य प्रारम्भ भएको छ । गरीब बस्ती निर्माण कार्यक्रम अन्तरगत मेयर आवास कार्यक्रम निरन्तर रुपमा सञ्चालन भइरहेको छ । बेलहियामा रहेको अन्तर्राष्ट्रिय नाकामा प्रवेशद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले यसको अलवा शिक्षा, स्वास्थ्य, सहकारी, कृषिलगायत सामाजिक विकासका आर्थिक चलायमान हुने, आत्मनिर्भर हुने खालका लक्षित वर्गमा आयआर्जनमूलक कार्यक्रम भइरहेका छन् । सोबाट लक्षित वर्गका नगरबासीहरु लाभान्वित हुने विश्वास लिएका छौं । नगरपालिकाले पञ्चवाटिकालाई हरियाली पार्कको रुपमा अगाडी बढाएको छ । बोटानीकल गार्डेनको लागि स्थान खोजी भइरहेको छ ।
अहिले हाम्रो मुख्य चुनौति फोहोरमैला व्यवस्थापन रहेको जगजाहेर नै छ । यसको व्यवस्थापनका लागि घरघरबाटै जैविक र अजैविक फोहोरलाई छुट्याई अजैविक फोहोरलाई मात्र व्यवस्थापन गर्ने गरी प्रशोधन केन्द्र निर्माण गरी फोहोरमैला व्यवस्थापन गर्ने सोचबमोजिम नगरपालिका अगाडि बढिरहेको छ भने जैविक फोहोर घरमै कमपोष्ट मलको रुपमा प्रशोधन गरी कौसी खेतीमा प्रयोगमा ल्याउने नीतिबमोजिम कार्यान्वयनको चरणमा रहेको छ । वडा नम्बर ५ मा निर्माण भएको कृषि भवनलाई हाटबजारको रुपमा प्रयोगमा ल्याउन अध्ययन समिति बनाइएको छ । यसलाई नगरपालिकाले छिट्टै सञ्चालनमा ल्याउने कुरा यहाँहरुलाई जानकारी गराउँछु ।
हामीले यहाँको भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रको विकासलाई एक साथ अगाडि बढाउँदै त्यसलाई सफलतापूर्वक सम्पन्न गरेकोले नै नेपाल नगरपालिका संघले तयार गरेको सूचकांकहरुमा नेपालकै सबैभन्दा धेरै अकं प्राप्त गरी प्रथम स्थान हासिल गरी सम्मानित भएको खबर नगरबासीमाझ सुनाउन पाउँदा हार्मी गौरवान्दित महसुस गरेका छौं । यो सफलता सिंगो भैरहवाकै लागि गरिमा हो भन्ने हामीले ठानेका छौं । यस अवसरमा सहयोग गर्नुहुने नगरपालिका पूर्व तथा मेरा वर्तमान जनप्रतिनिधिज्यूहरु, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहितको कर्मचारी परिवार समेतलाई धन्यवाद दिन चाहन्छु । नगरपालिकाको यो अभियानमा पटकपटक सकारात्मक सल्लाह–सुझाव एवं हौसला दिनुहुने नगरबासी, बुद्धिजीवि, उद्योगी व्यापारी, राजनीतिक दल, सघं–संस्था, सञ्चार जगत एवं प्रशासनिक क्षेत्रमा निरन्तर सहयोग गर्नुहुने प्रमुख जिल्ला अधिकारीसहित सम्पूर्ण जिल्ला सुरक्षा समितिका सदस्यसहित सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।
हामी जनप्रतिनिधिहरु निर्वाचित भएर आएदेखि नै आफ्ना प्रतिवद्धता र नगरको विकासका लागि अहोरात्र खटिएका छौं । यहाँहरुले पनि नगरको विकासको लागि रचनात्मक सुझाव–सल्लाह दिदै आउनुभएको छ । यसप्रति हामी आभारी नै छौ । आगामी दिनहरुमा पनि यहाँहरुबाट यस्तै सहयोगको अपेक्षा राखेका छौं ।
हाम्रै नगरीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ र यसको उद्घाटन भएको पनि तीन वर्ष बितिसकेको छ । तर, यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । जुन हाम्रो लागि मात्रै नभइ पश्चिम क्षेत्रकै लागि पीडादायी रहेको छ । यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउनको लागि निजी क्षेत्रबाट हुँदै आएको पहलको लागि म धन्यवाद दिन चाहन्छु । तर, पनि केन्द्र सरकारले यसको सुनुवाई गरी नियमित उडानका लागि उदासिनता देखाएको छ ।
केही दिन पहिला मात्रै हामीले माननीय उपप्रधान एवं अर्थमन्त्री र माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीलाई नियमित सञ्चालनको लागि पहल गरिदिन आग्रह गर्दै ध्यानकर्षण–पत्र बुझाएका छाैं । अब यतिले मात्र पनि नियमित अन्तर्राष्ट्रिय उडान नभएको खण्डमा हामी सबै हातेमालो गरेर केन्द्र सरकारलाई घचघचाउनुपर्ने अवस्था आउन सक्छ । त्यसको लागि म एवं हाम्रो सिंगो नगरपालिका टीम अग्रस्थानमा रहेर सरकारलाई दबाब सिर्जना गर्न पछि पर्ने छैन भन्ने विश्वास समेत यहाँहरुलाई दिलाउन चाहन्छु । धन्यवाद !
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij