२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कृतिहरुको संरक्षणको जिम्मेवारी सरकारले लिन्छ : मुख्यमन्त्री आचार्य

शनिवार , बैशाख ६, २०८२

कपिलवस्तु, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्रष्टाहरुले समाज रूपान्तरणका लागि पुर्‍याएको योगदानलाई राज्यले उच्च सम्मानका साथ लिने बताएका छन् । कपिलवस्तुको साहित्य तीर्थ कपिलधाम बाणगंगा नगरपालिका–९ मा आयोजित प्राज्ञ प्रा.डा. बिष्णुराज आत्रेय र साहित्यकार तथा समाजसेवी हिमलाल ज्ञवालीको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्रष्टाका कृतिहरूको संरक्षण र संरक्षकत्वको जिम्मेवारी सरकारले लिने बताएका हुन् ।

उनले भने,‘देशमा भएका ठूला राजनीतिक परिवर्तनहरू स्रष्टाहरुको चेतनामूलक रचनात्मक योगदानले सम्भव भएका हुन् । साहित्यको मात्र होइन, समाजको मूल चरित्र परिवर्तनमा पनि स्रष्टाको भुमिका महत्वपूर्ण रहँदै आएको छ ।’

मुख्यमन्त्री आचार्यले कपिलवस्तुलाई साहित्यिक दृष्टिले समृद्ध ठाउँको रुपमा चिनाउँदै यस क्षेत्रको समग्र विकासमा प्रदेश सरकारले विशेष भूमिका खेल्ने बताए ।

सोही अवसरमा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा साँस्कृतिक जागरण तथा शैक्षिक क्षेत्रको विकासमा स्रष्टाहरुले पुर्‍याएको  ऐतिहासिक ग्रन्थहरूको संरक्षण आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा साहित्य, संस्कृति र इतिहासप्रति रुचि राख्ने विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो ।