२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पत्रकार विश्वकर्मालाई न्याय दिन माग गर्दै आन्दोलनको घोषणा

बुधवार , बैशाख १०, २०८२

भैरहवा, १० वैशाख ।  पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारवाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लि. (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले वैशाख ८ गते सञ्चार उपकरण खोस्ने, भिडियो मेटाउन लगाउने, दुव्र्यवहार गर्ने र भौतिक आक्रमणको प्रयास गरेका थिए ।

घटनामा संलग्नलाई कानूनी दायरामा नल्याइएको बरु प्रहरी नियन्त्रणबाटै भगाइएको भन्दै प्रेस क्लबले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । क्लबको कार्यसमिति, सल्लाहकार, पूर्वपदाधिकारीसहितको बैठकले पत्रकार विश्वकर्माको न्यायका लागि भन्दै पहिलो चरणमा तीनदिवसीय आन्दोलनका कार्यक्रम घोषणा गरेको सचिव शशि पन्थीले जानकारी दिए । क्लबले उक्त आन्दोलनमा प्रेस स्वतन्त्रता, मानव अधिकारवादी र सामाजिक न्यायको पक्षमा हुने सम्पूर्णमा सहयोग र सहकार्यका लागि समेत आह्वान गरेको छ ।

क्लबले पहिलो दिन वैशाख ११ गते बिहीबार बिहान सवा १० बजेदेखि १ घण्टासम्म जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि धर्ना दिने जनाएको छ । साथै आन्दोलनका कार्यक्रमबारे नेपाल पत्रकार महासंघसहित विभिन्न पेशागत संघ–संगठनलाई जानकारीसहित ऐक्यवद्धताका लागि आग्रह गर्ने विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।

दोस्रो दिन वैशाख १२ गते शुक्रबार सम्पूर्ण पत्रकारहरुले कालोपट्टी बाँधेर बिहान सवा १० बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने कार्यक्रम तय गरिएको छ । यस्तै, तेस्रो दिन वैशाख १४ गते आइतबार सम्पूर्ण पत्रकारहरुले सञ्चार सामग्रीहरु प्रशासनको गेटमा राखेर, कालोपट्टी बाँधेर बिहान सवा १० बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने जनाइएको छ ।

यसपछि पनि दोषीलाई पक्राउ गरी कानूनी दायरामा नल्याइए दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरी चरणबद्ध आन्दोलनमा उत्रिने क्लबका अध्यक्ष कमल रायमाझीले बताए । ‘न्याय नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ’, उनले भने, ‘दोस्रो चरणका आन्दोलन काठमाडौं केन्द्रित पनि हुन सक्छन् ।’

क्लबले दोषीउपर कारबाहीको मागसहित सम्बन्धित निकायमा उजुरी दिइसकिएको जनाएको छ । पत्रकार विश्वकर्मामाथि घटाइएको घटनाबारे लुम्बिनी प्रेस क्लब, नेपाल पत्रकार महासंघ, रुपन्देही शाखा, महासंघ लुम्बिनी प्रदेश, महासंघ केन्द्रिय समितिसहित विभिन्न संघ–संगठनले यसअघि नै विज्ञप्ती जारी गरी दोषीमाथि कारवाहीको माग गरिसकेका छन् । 

उक्त घटना घटेको दुई घण्टापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी)सुरज कार्कीले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने दीपेश यादव पक्राउ परेको जानकारी गराएको तर, पक्राउ गरिएका यादव सोही दिन साँझपख प्रहरीकै नियन्त्रणबाट भागेको भन्ने गैरजिम्मेवारी कुरा अहिले प्रहरीले गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।

यसबारे सतथ्यतथ्य छानविन गरी दोषी र दोषी भगाउन सहयोग गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ, रुपन्देहीले २४ घण्टाको अल्टिमेटम दिँदै मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । ‘तर, २४ घण्टा वित्दा समेत प्रहरी प्रशासनबाट दोषी र दोषी भगाउने प्रहरीलाई कानूनी दायरामा ल्याइएको कुनै जानकारी प्राप्त भएको छैन । जसले गर्दा पीडित पत्रकार विश्वकर्माले न्याय पाउनेमा अझै विश्वस्त हुने अवस्था छैन’, विज्ञप्तीमा भनिएको छ ।