
शुक्रवार , बैशाख १२, २०८२
बुटवल, १२ वैशाख । लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले नागरिक सम्वाद कार्यक्रम गरेको छ । समाजले नागरिक अभियन्ता, प्राध्यापक, बुद्धिजीविहरुबीच समतलीय अन्तर–संवाद गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले लोकतन्त्रको लागि निरन्तर खबरदारी र निगरानी गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिइन् । मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय सभापति गोविन्द खनालले दलहरुले लोकतन्त्रको जस अपजस दुवै व्यहोर्नुपर्ने बताए । उनले राजतन्त्र संवेदनशील अंग दिमागमा बस्ने टेपवर्म जस्तै भएको बताए ।
लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमहान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता डा. बुद्धबहादुर थापाले लोकतन्त्रका मालिक जनता भएको औल्याउँदै मालिकको अपेक्षा सम्बोधन नभएकोले लोकतन्त्रमा वितृष्णा बढेको औल्याए ।
नेपाली कांग्रेसका नेता युवराज गिरीले जनआन्दोलनमा हिंड्दाहिंड्दै धेरैले ज्यान गुमाए, हामी बचेर आएका हौं, हामीले लोकतान्त्रिक गणतन्त्र ल्याएको तर, नेता कार्यकर्तालाई असल लोकतान्त्रिक शैली र आचरणको बनाउन नसकेको बताए । बामपन्थी नेता शरद ओलीले निरंकुश राजतन्त्र र त्यसको सामन्ती अवशेषलाई समाप्त पार्दै अघि बढ्नु अबको रणनीति हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा शान्ति समाजका लुम्बिनी प्रदेश सचिव डिपि खनालले लोकतन्त्र दिवसको सन्दर्भमा शान्ति समाजले तयार पारेको अवधारणा प्रस्तुत गरे । नेपाल वार एशोसियसनका केन्द्रीय सदस्य अधिवक्ता इन्दिरा आचार्यले लोकतान्त्रिक प्रणालीमा विचलन आउनुको मुख्य कारण शक्ति पृथकीकरण सिद्धान्तविपरीतको कार्यशैली भएको बताइन् । अधिवक्ता पदम कार्कीले लोकतान्त्रिक गणतन्त्रले नेपाली सामाजिक साँस्कृतिक धरातलमा नटेकेको बताए ।
इन्सेक लुम्बिनी प्रतिनिधि अधिकारकर्मी रिमा बि.सी.ले राजतन्त्र आउन सम्भव नभएको बताइन् । नेपाल मजदुर किसान पार्टीका युवा नेता हरिसुन्दर बासीले शिक्षामा निजीकरणको समस्या, शिक्षामा माफियाकरण, पूँजीवादी लोकतन्त्र, दलाल अर्थतन्त्रबाट लोकतन्त्र संस्थागत नहुने बताए । वरिष्ठ लेखक ऋषि आजादले नेता र दलहरु लोकतन्त्रप्रति प्रतिबद्ध र आचारणमा नदेखिएकोले निराशा आएको बताए ।
लेखक मनिकर कार्कीले लोकतान्त्रिक प्रणाली आएको तर, सामन्तवादी चिन्तन, त्यसै अनुसारको आदत र दृष्टिकोणले परिवर्तनलाई सार्थक पार्न नसक्दा समस्या सृजना भएको बताए । उद्योग व्यापार सघ बुटवलका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थीले लोकतन्त्र धरापमा पर्ने शंका बढेको बताए । शिक्षाकर्मी इन्दिरा अर्यालले शिक्षा ऐन संशोधन गरेर मात्र लोकतन्त्रको जग बलियो बनाउनु सकिने बताइन् ।
बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराईले कुशासनको विषय खासगरी लाइसेन्स वितरण, ठेक्कापट्टा, प्रशासनिक उल्झन, मानवीय अपमान, दण्डहीनताबाट आजित हुँदा राजतन्त्रले टाउको उठाउने ठाउँ पाएको उल्लेख गरे । नेपाल शिक्षक सघ बुटवलका अध्यक्ष शिव अर्यालले शिक्षक आन्दोलन लोकतान्त्रिक जागरणकै कडी भएको उल्लेख्य गर्दै शिक्षाको माध्यमबाट असल समाज बनाउनलाइ आन्दोलन गरिएको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष पत्रकार शेरबहादुर केसीले लोकतन्त्रमा कर्तव्य र अधिकारको सन्तुलित प्रयोग नभएको बताए । उपभोक्ता हित तथा संरक्षण मञ्च बुटवलका अध्यक्ष समुद्र जिसीले लोकतान्त्रिक गणतन्त्रमा सबै दल मिलेर अघि बढ्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) बुटवलका अध्यक्ष महेन्द्र भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र सबैको बलिदानपूर्वक आएको बताउँदै सबै दल र नागरिक मिलेर यसलाई जोगाउनुपर्नेमा जोड दिए ।
नेपाल वार एशोसियसन उच्च अदालतका अध्यक्ष गोविन्द मरासिनीले शासकीय स्वरुप बदलेर अगाडि बढ्नुपर्ने बताए । कांग्रेस बुटवल नगर उपसभापति ज्योति भण्डारीले लोकतन्त्र बलियो बनाउन संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले लोकतन्त्रका सबल पक्षको राम्रो प्रचार गर्नुपर्ने बताए ।
मानवअधिकार तथा शान्ति समाजका रुपन्देही जिल्ला सभापति अर्जुन ज्ञवालीले २००७ सालको जनक्रान्तिदेखि २०६२/६३ दोस्रो जनआन्दोलनसम्मका जनताका अपेक्षाहरु अविलम्ब पूरा गरिनुपर्नेमा जोड दिए । उनले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको अर्को विकल्प नभएको औल्याउँदै प्रतिगमन कदापी स्वीकार नहुने बताए । मानवअधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सदस्य सीता पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij