
शुक्रवार , बैशाख १२, २०८२
पाल्पा, १२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनालाई समयमा सम्पन्न गर्ने गरी सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक पूर्वाधार, प्राविधिक शिक्षा, स्वास्थ्य, प्रशासनिक केन्द्र निर्माणको कामलाई प्रदेश गौरवका आयोजनाको रूपमा तीव्र रूपमा कार्यान्वयन गरिरहेको र यी आयोजना सम्पन्न भएपछि प्रदेशले नयाँ उचाइ प्राप्त गर्ने बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर निर्माण सुरु गरेको गरेको हो । अहिले पनि सडक निर्माणको काम चलिरहेको छ। चारवटा प्याकेज निर्माण गरेर सडक निर्माणको काम चलिरहेको हो । स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन बुटवलमा सुविधासम्पन्न अस्पताल निर्माणको काम तीव्र रुपमा भइरहेको छ । १२ तले १ हजार २ शैया रहने यस अस्पताल भवन निर्माणको काम तीव्र रुपमा भइरहेको हो ।
६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्ने गरी योजना छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा ३ अर्ब ९ करोड रुपैयाँको लागतमा प्रशासनिक केन्द्रको निर्माण काम चलिरहेको छ । मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालयको निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । हाल ७५ प्रतिशत काम पूरा भइसकेको छ ।
बाँके जिल्लाको खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना गरिएको छ । यसलाई प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको हो । सूचना प्रविधि, इञ्जिनियरिङ, कृषिलगायत अध्यापन हँुदै आएको छ । प्राविधिक विश्वविद्यालयमा गतवर्ष ३२ जना विद्यार्थी रहेकोमा अहिले १६७ जना पुगेको छ ।
त्यस्तै मुख्यमन्त्री आचार्यले मुलुकमा राजनीतिक स्थायीत्व दिने गरी केही मिसनका साथ दुई ठूला राजनीतिक दलको समिकरणमा संयुक्त सरकार बनेको बताए । ‘वर्तमान सरकार बन्नुको पछाडिको कारण राजनीतिक अस्थिरतालाई अन्त्य गर्नु हो । ९ महिनाको अवधिमा धेरै सुधारका कामहरू अघि बढाएका छौं’उनले भने–‘फजुल खर्च कटौतीदेखि सुशासन कायम गर्ने गरी सरकारले सुधारको काम गरेको छ ।’
मुख्यमन्त्री आचार्यले विकास निर्माणको कामलाई गति बढाउने र योजनाको प्राथमिकीकरणमा समेत सरकारले ध्यान दिएको बताए ।
उनले प्रदेश सरकार चाहिदैन भनेर गलत भास्य खडा गर्न खोजिएको भन्दै आठ वर्षको अवधिमा प्रदेश सरकारबाट भएका कामहरुको खुलेर कुरा गर्नुपर्नेमा जोड दिए । यो अवधिमा सडक, पुल, खानेपानी, स्वास्थ्य लगायतका आयोजना सफल बनाउन प्रदेश सरकारले विशेष ध्यान दिएको बताए । ‘१२ जिल्लाका अस्पतालमा सर्वसुलभ रूपमा विशेषज्ञ उपचार सेवा पुर्याउन प्रदेश सरकारले ध्यान दिएको छ,’ मुख्यमन्त्री आचार्यले भने–‘विशेषज्ञ चिकित्सकको दरबन्दी सरकारले मिलाएको छ । प्रसूति सेवालाई पनि प्रभावकारी बनाएका छौं ।’
मुटु, मृगौला, क्यान्सर रोगको उपचार सहुलियत सिफारिस जिल्ला तहबाट गर्ने व्यवस्था मिलाएको उनले बताए । प्रदेश सरकारले दुई लाख रुपैयाँ उपचारमा सहयोग गर्दै आएको छ । त्यस्तै मुख्यमन्त्री आचार्यले उद्योग, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिएर उल्लेख्य काम गरिएको स्पष्ट पारे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij