
शुक्रवार , बैशाख १२, २०८२
भैरहवा, १२ वैशाख । युनिभर्सल पब्लिक हाई स्कूल भैरहवामा विद्यार्थीहरूको संगठन युनिभर्सल विद्यार्थी साहित्य समाजले ‘काव्य उत्सव’ कार्यक्रम सम्पन्न गरेको छ । साहित्यकार विजय सागरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ६ देखि कक्षा १० का विद्यार्थीहरूको सहभागीता रहेको थियो । कार्यक्रममा २५ जना विद्यार्थीहरूले आआफ्ना कविताहरू वाचन गरेका थिए ।
कविताहरूको समेत समीक्षा गरेका साहित्यकार विजय सागरले विद्यार्थीहरूको साधना र सिर्जना प्रशंसनीय रहेको भन्दै विद्यालयहरूले यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताए । कक्षा १० की छात्रा गंगा घिमिरेको सञ्चालन रहेको उक्त कार्यक्रमको सभाध्यक्ष कक्षा १० का छात्र सम्राट पोखरेलले गरेका थिए ।
उक्त कार्यक्रममा सहायक प्राचार्य सुरज घिमिरे ‘दीपशिखा’ ले स्वागत मन्तव्यसहित बालगजलसमेत वाचन गरेका थिए । कार्यक्रममा बोल्दै प्राचार्य गोकुल पोखरेलले विद्यालयले बालबालिकाहरूमा सिर्जनशीलताको विकास गर्न यस्ता कार्यक्रमहरूलाई जोड दिएको कुरा बताए । उक्त कार्यक्रममा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विद्यार्थीहरूलाई मुना पत्रिकाको वैशाख अंक प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij